जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको प्रदेश स्तरिय पहिलो भेला सम्पन्न गरेको छ । नेकपाको प्रदेश २ का इन्चार्ज एंव स्थायी समिती सदस्य सत्यनारायण मण्डलको अध्यक्षतामा आयोजित प्रदेश भेलामा प्रदेश २ का पर्सा देखि सप्तरी सम्म ८ जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी थिए ।
भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला बालबालीका तथा समाज कल्याण मन्त्री जुली कुमारी महतोले सम्बोधन गरेका थिए ।
नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई गाली गर्नमै अधिकांश समय खर्चिए ।
नेकपाका महासचिव तथा अर्थमन्त्री पौडेलले प्रचण्ड–माधव अझै पनि हाम्रा अध्यक्ष र वरिष्ठ नेता हुन् भन्दै उनले भने, ‘प्रचण्ड अझै हाम्रा अध्यक्ष हुन् र माधवजी पनि वरिष्ठ नेता हुनुहुन्छ । प्रचण्डलाई कार्यकारीबाट बाध्यताले हटाएका हौँ, आउनुस् फेरी यही पार्टी भित्र फर्केर एकता गरौँ, आरोपपत्र फिर्ता लिनुस् । संगै मिलेर देश र पार्टी निर्माण गरौँ ।’
उनले पार्टी र सत्ता कब्जा गर्ने स्वार्थले आएका प्रचण्ड र अध्यक्ष बन्नकै लागि मरिहत्ते गर्ने माधव नेपाल जस्ता स्वार्थीहरु र असहयोगीहरु पार्टी भित्र नरहेकाले अब सहज रुपमा पार्टी र सरकारले कामकारवाही गर्ने बताए । उनले प्रचण्ड–माधव जस्ता व्यवधान बाधा अवरोध खडा गर्ने साथीहरु पार्टी भित्र नरहेकाले निर्वाचनको तयारीमा ढुक्क भएर लाग्न निर्देशन समेत दिए । उनले भने, ‘अब कुनै पनि किसिमको अवरोध सृजना हुनेछैन, रुन्चे प्रचण्ड र २ नम्बर अध्यक्ष बनेरै छाडेका माधवहरु समेत आफै छेउ लागेका छन् ।’ ‘पार्टी फुटाएर भएपनि माधव अध्यक्ष बन्नैका लागि कहाँ पुगे त्यो धरातल हेर्दा हुन्छ, अहिल्यै पनि हामीले ठाउँ राखेका छौँ, पार्टी विभाजनका निम्ति भन्दा एकताका लागि अहिलेपनि अपिल गर्दछौँ । प्रचण्ड अझैपनि हाम्रा अध्यक्ष हुन् र माधवजी पनि वरिष्ठ नेता हुनुहुन्छ । प्रचण्डलाई कार्यकारीबाट बाध्यताले हटाएका हौँ । आउनुस् फेरी यही पार्टी भित्र फर्केर एकता गरौँ, आरोपपत्र फिर्ता लिनुस् । उनले प्रचण्ड र माधवको सत्ता र पार्टी कब्जा गर्ने योजना तुहिएको बताए ।
उनले लोकतन्त्रमा विश्वास गर्ने पार्टीले निर्वाचनमा भाग लिनेछ । प्रदेश २ मा अघिल्लो वर्ष भन्दा झनै राम्रो मत ल्याउने र ३२ सिट मध्ये १७ देखि २० स्थानको सिट जितको सुनिश्चित गर्न भन्दै उनले भने, ‘बहुसंख्यक सिट जितका लागि निर्वाचनको तयारीमा लागौँ ।’
उनले प्रतिनिधिसभा विघटन र नेकपा फुटको औचित्य पुष्टि गर्दै महासचिव पौडेलले भने, ‘सत्ता कब्जा गर्ने गलत चेष्टा गरेकाले पार्टी विभाजन भयो, अवसरवाद र स्वार्थसिद्ध गर्नेहरुको सामनेमा आत्मसमर्पण या प्रतिवाद गर्ने बाहेकको विकल्प नभएर ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको हो ।’
स्थायी समिति सदस्य प्रभु साहले प्रचण्ड जालझेल र षड्यन्त्रपूर्ण तरिकाले पार्टी निर्माणमा बाधा अवरोध खडा गर्दै आएको बताए । उनले कम्यूनिष्ट आन्दोलन संकट तर्फ उन्मुख भएको भन्दै पार्टी विघटनको समिक्षाको आवश्यकता रहेको बताए । उनले ओरिजिनल कम्यूनिष्ट नेता कार्यकर्ताले विभाजनको समिक्षा गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
शहरी विकास मन्त्री समेत रहेका मातृका प्रसाद यादव र नेता रामचन्द्र झा माथि खनिदै भने, ‘जसले क्रान्तिका निम्ति पार्टी फोडेर गए, तर घर फोड्न बाहेक केहि गर्न सकेनन् ।’ त्यसैगरी स्थायी समिति सदस्य रघुविर महासेठले एकहोरो तरिकाले प्रचण्ड माधव पक्षले ओली माथि आरोप लगाएको बताए । प्रचण्ड र माधवले गलत ढंगले अविश्वासको प्रस्ताव लगेकाले प्रतिनिधिसभा बाध्यतात्मक अवस्थामा आएर भंग भएको स्पष्ट पारे ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले कुनैपनि हालतमा संसद पुनःस्थापना हुन नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रैबाट अप्ठ्यारो पर्ने गरि चल्न नदिदाँ संसद विघटन बाहेकको विकल्प नरहेको बताए । भेलामा तत्कालिन नेकपा माओवादी केन्द्र तर्पmबाट प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह समेतको सहभागिता रहेको थियो ।