
सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरेको छ।
गत वर्षहरुमा सर्लाहीको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका सर्लाहीकै इन्दुशंकर चिनी मिलले भने चालु सिजनकै भुक्तानी दिएपछि किसान दंग भएका छन्।
किसानलाई भुक्तानीमा खासै झन्झट नबेहोरेको इन्दुशंकरले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरिद गरेको थियो। गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले माघ २ गतेसम्म आउँदा करिब सात लाख १६ हजार दुई सय क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए।
गत पुष १५ गतेसम्मको उखु खरिदबापत गत माघ ३ गते नै करिब १२ करोड भुक्तानी गरिसकेको र उद्योगद्वारा पुस २९ गतेसम्मको उखु खरिद गरेबापत किसानलाई दिन बाँकी सम्पूर्ण रकम (आज) बिहीबार भुक्तानी गरिएको नेपालले बताए।
उद्योगले किसानलाई दुई पटक १२/१२ करोड र एक पटक आठ करोड गरी तीन पटकमा जम्मा ३२ करोड भुक्तानी गरिसकेको जनाएको छ। यस वर्ष सरकारले उखुको मूल्य कायम नगरे पनि गत सालको मूल्यलाई आधार मानेर मिलले भुक्तानी दिएको नेपालले जानकारी दिए।
सरकारले पछि मूल्य तोक्दा अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आए थप रकम पनि किसानको खातामा हालिदिने नेपालले बताए।