सिरहा : सिरहा सदरमुकाममा सोमवार शहीद हेमनारायण यादवको १७ औ स्मृति सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे। उनी सिरहा आएलगत्तै शहीद यादवको शालिकमा माल्यार्पण गरेपछि सभामा सहभागी हुन सिरहा क्याम्पस पुगे।
क्याम्पस परिसरमा उपस्थित सहभागी देखेर उनी खुसीले गदगद भए । सभामा करिब २५ हजारभन्दा बढी कार्यकर्ता सहभागी थिए । सभामा सहभागी जुटाउने जिम्मेवारी सिरहाका सक्रीय नेता दिनेश यादवले पनि पाएका थिए ।
उनले भने, ‘प्रधानमन्त्री ओली मधेस विरोधी होइन् भन्ने कुरा आजको सभाले पनि पुष्टि गरेको छ ।’ सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराईलाई सलाम गरे। उनले भने, ‘नेपालका हरक परि े वर्तनकारी आन्दोलनमा तराईका कैयौं व्यक्ति शहीद भएका छन्। तराईका शहीदको योगदान कहिल्यै भुल्न सकिदैन ।’ संसद विघटनपछि नेकपा विभाजन हुँदा प्रधानमन्त्री ओली मधेसमा कमजोर बनेको अनुमान सबैको थियो तर सोमवार सिरहामा मधेसीले जनाएको उपस्थितिले उनी मधेसमा पनि लोकप्रिय रहेको देखाएको छ ।
उनको सम्बोधन सुन्न गाउँगाउँबाट महिला र पुरुषहरू सहभागी भएका थिए । सभामा महिला र पुरुषको अलग अलग व्यवस्थापन गरिएको थियो। संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक सिरहा आएका हुन् ।
सिरहामा प्रधानमन्त्री ओली समुहको नेकपा मजबुत रहेको नेता दिनेश यादवले दावी गरे। उनले भने, ‘देश विकास प्रधानमन्त्री ओलीले मात्र गर्न सक्छन्। मात्र सपना देख्नेलाई जनताले साथ दिने छैन्।’ शहीद यादवका छोरा डा. नविन यादव पनि ओली नेतृत्वको नेकपामा रहेका कारण सिरहामा संगठन मजबुत देखिएको छ ।
सिरहा नगरपालिकाकी उपमेयर डा. नमिता यादव र ६ वटा वडाध्यक्ष तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । उनी सबै जनप्रतिनिधि प्रधानमन्त्री ओली नेतृत्वकै नेकपामा रहेको नेता यादवले दावी गरे।


