File Photo

जनकपुरधाम : धनुषामा गाडीको ठक्करबाट गम्भीर घाइते भएका दुई जना मध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर-५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति करिव साढे आठबजेको समयमा ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिँदा सोहि ठाउँ बस्ने २४ वर्षीय दिपेन्द्र महतो र २० वर्षीय रोशन लामा घाइते भएका थिए ।

घाइते युवकद्वय मध्ये दिपेन्द्र महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अर्का घाइते लामाको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिएर घटनास्थलबाट फरार भएका स्कारपियोलाई प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएको थियो । स्थानीयले घटनाको विरोधमा गएराति पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरेका थिए ।

दिपेन्द्रको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

२०७७ माघ २१, बुधबार १२:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय