
काठमाडौं : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग आज (मंगलबार) एक घण्टा छलफल गरेका छन् ।
नेकपाको आधिकारिकता दावी गर्न मंगलबार बिहान ११.५० बजे निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीसँग १२.५० बजेसम्म छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजन भएको थियो । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेका हुन् ।