जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि झण्डै ५५ करोड बजेट विनियोजन गरेको छ । सोमवार सम्पन्न गरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व बाँडफाँड तर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रहेको छ ।
विश्वव्यापी कोभिड-१९ कोरोना संक्रमणको कारण प्रभावित भएका विपन्न समुदायलाई, विपन्न परिवार र व्यक्तिलाई व्यवसायिक मूलक योजनाहरु ल्याएर प्रत्यक्ष रोजागरी सृजना गरिने जनाइएको छ । लकडाउन र कोभिडका कारण प्रभावित गर्भवति महिला, अपाङ्ग, बालबालिकाहरुलाई केन्द्रीत गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने मेयर बरबरियाले बताए । बरबरियाका अनुसार, कोभिड सम्बन्धी सेचतनात्मक कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी क्षमता अभिवृद्धिको तालिमहरु सचालन गरिने छ ।
कोभिड १९ कारण डिप्रेषण, तनावमा रहेका लक्षित वर्गहरुलाई मनोपरामर्श सेवाको समेत सञ्चालन गरिने बताईएको छ । बजेटमा शिक्षा र कृषि आधुनिकीकरणमा विशेष जोड दिइएको छ । आउँदो आर्थिक वर्षमा नगरभरिको विद्यालयहरुलाई डिजिटल प्रविधिमा लैजाने योजना अघि सारिएको हो । साथै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण योजनामा प्राथमिकीकरण गरिएको छ ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवको अध्यक्षता तथा मेयरका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता देबेन्द्र भर्खेरको प्रमुख आतिथ्यमा सौहार्दपूणर् वातावरणमा नगरसभाबाट विद्यालयलाई डिजिटलाईज गर्ने बताइएको छ । नगरभित्रको समुदायिक विद्यालयहरुमा डिजिटल हाजिरी सहित एप्स मार्फत डाटाहरु संकलन गर्ने र अध्ययन अध्ययापनको अन्य क्रियाकलापहरु गरिने जनाइएको छ ।
विद्यालयलाई डिजिटलाईज गर्नुका साथै इच वन टिच वनको माध्यमबाट साक्षरता अभियान चलाइने भएको छ । समाजिक विकास तर्फ फोहोर व्यवस्थापन र सरसफाईलाई दोस्रो प्राथमिकतामा राखिएको नगर प्रमुख उदय कुमार बरबरियाले जानकारी दिए । उनका अनुसार, फोहोर फाल्नेलाई टिप्न लगाउने अभियान समेत नगरमा सञ्चालन गरिने छ ।
लैँगिक समानता, खेलकूद, स्वास्थ्य र आयूर्वेद, खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रवद्र्धन, पूर्वाधार विकास, महिला तथा बालबालिका विकास, भवन तथा सहरी विकास, पर्यटन, सहकारी, वितिय क्षेत्र, उर्जा लघु तथा साना जलविद्युत, सञ्चार सेवा, वातावरण तथा व्यवस्थापन, कृषि तथा पशुसेवा लगायतको सर्वाङ्गिण क्षेत्रलाई समेटेर समृद्ध शहिदनगरको परिकल्पनालाई साकार पारिने जनाइएको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा चालु आर्थिक वर्षमै ल्याइएको शहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम र शहिद कामेश्वर कुशेश्वर सुविधा सम्पन्न बस स्टैण्डको योजनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गरिने लक्ष्य लिइएको हो ।