काठमाडौं : सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् ।

सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जनाकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् ।मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् ।

सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ । सँगै यो निर्णय कार्यान्वयन हुँदासम्म ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब सार्वजनिक सवारी साधनमा चढ्दा अहिलेको भाडा भन्दा डबल पैसा तिर्नु पर्नेछ ।

लामो दूरीका सार्वजनिक सवारी साधनको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन । असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको हो। कोरोनाको सङ्क्रमण हुने जोखिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिइने भएको छ।

काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन्। मन्त्री खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्नसक्ने बताए। विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ को सङ्क्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर-बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ।निजी सवारी साधनमा चालकबाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर-बिजोर प्रणाली भने कायम रहनेछ। जोर-बिजोर प्रणाली मोटर साइकलका हकमा समेत लागू हुनेछ।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाका हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सवारी सार्वजनिक यातायात सञ्चालन हुन पाउनेछन्।सरकारको निर्णयानुसार चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रु रहन पाउनेछन्। यस्तै एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ।

यस्तै चालक तथा सहचालकले समेत अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनुपर्नेछ। सरकारले तोकेअनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सीबाहेक अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको ५० प्रतशितसम्म थप भाडा लिन पाइनेछ। यस्तै उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनले पनि सिटको एक लहरमा एकजना मात्रै यात्रु राख्नुपर्नेछ। सबै यात्रु्ले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने तथा सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनु पर्नेछ।

यातायात व्यवसायीले लकडाउनका कारण आफूहरु मर्कामा परेको भन्दै तत्काल सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन माग गर्दै आएका थिए। कास्कीमा बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्न ताकेता गरेको भन्दै सवारी साधनको चाबी नै बुझाएका थिए। यस्तै ट्याक्सी चालक तथा व्यवसायीले पनि आफूहरु मारमा परेको भन्दै आफ्नो सवारी साधन सञ्चालन गर्न माग गर्दै आएका थिए।

२०७७ असार २६, शुक्रबार ०९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय