
प्रदेश २ सरकारले बेथिती, भ्रष्टाचार र कुशासनमा नयाँ नयाँ कीर्तिमान खडा गरेको आरोप नेकपाका युवा नेता चन्द्र भुषण साहले लगाएका छन् । समाजिक सञ्जाल फेसबुक पेज मार्फत नेता साहले भने, “प्रदेश सरकारको विभागीय मन्त्रालयहरुको क्षेत्राधिकार बारे नेपालको कानूनमा स्पष्ट व्यवस्था गरिएको छ तरपनि प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उद्योग मन्त्रालय, भौतिक मन्त्रालय, समाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय लगायतका विभागीय मन्त्रालयहरु कानून विपरीत बढीभन्दा बढी लुट – खसौट, कमिशन, भ्रष्टाचार र बेथितीको नयाँ – नयाँ कीर्तिमान खडा गर्दै एउटै चरित्रको कार्यक्रम जस्तै: मन्दिर – मस्जिद, सामुदायिक भवन, पोखरी सौंदर्य, गेट तथा कपाउण्डवाल जस्ता गैरउत्पादनशील (अनुत्पादक) क्षेत्रमा रुमलिएको देखिन्छ ।” प्रदेश सरकारको यी र यस्ता गलत रवैया एवं अपराधहरुले गर्दा आज सिङ्गो प्रदेश र सारा प्रदेशवासीको स्वभिमान, गौरव र गरिमामा खलल पुग्नुको साथसाथै अपमान एवं बदनामी समेत भैईरहेको युवा नेता साहको ठहर छ ।
नेता साहले भने: “प्रदेश २ सरकारले आ.व. २०७७/७८ का लागी तयार पारेको वार्षिक कार्यक्रमहरुको विवरण हेर्दा लाग्छ कि अब यो प्रदेशमा एउटा मात्र मन्त्रालय र मन्त्री राखे पुग्छ । किनभने, मन्त्रालयहरुको नाम मात्र अनेक तर सबै मन्त्रालयहरुको कामको चरित्र एउटै नै हुने हो भने, अन्य प्रदेशको तुलनामा त्यत्रो धेरै जम्बो मन्त्रीमण्डल, अनावश्यक गाडी लगायतको मानवीय एवं भौतिक सुखसुविधाहरुको दुरुपयोग आखिर कहिलेसम्म र किन ?” उनले व्यङ्गय भावमा अगाडि थपे: “म माननीय मुख्यमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु; मानव विकास सूचकांकमा देशकैं सबैभन्दा पछाडि रहेको हाम्रो प्रदेश २ मा के यस्तै कार्यक्रमहरुले प्रदेशको सम्मान, समृद्धि र विकास सम्भव छ ?”