काठमाडौं : सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ। सेरम इन्स्टिच्युट अफ इन्डियाबाट सरकारले खरिद गरेको २० लाख डोज मध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको हो। एयर इन्डियाको विमानमार्फत उक्त खोप दिउँसो २ बजे विमानस्थलमा आइपुगेको हो।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिनेछ। त्यहाँबाट प्रदेश हुँदै जिल्लास्थित खोप केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। बाँकी खोप दुई हप्ताभित्र आइपुग्ने सरकारले जनाएको छ। सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरिएको हो। दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउने सरकारको तयारी छ।

त्यसबाहेक शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत उक्त खोप लगाउने तयारी छ। हाल भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप देशका ७७ जिल्ला र बिभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लगाउने काम भइरहेको छ। चीनले पनि नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिँदैछ।त्यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गतको संयन्त्र कोभ्याक्सबाट पनि नेपालले साढे २२ लाख डोज कोभिड खोप प्राप्त गर्ने बताइएको छ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रति खोप ४ अमेरिकी डलरको दरमा भारतसँग २० लाख कोभिड–१९ को खोप खरिद गर्ने निर्णय गरेको थियो। सोहि निर्णयबमोजिम सरकारले सो खरिद प्रक्रिया अघि बढाएको हो।

२०७७ फाल्गुन ९, आईतवार १६:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय