‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चलेको उखान हो। समाजमा बस्नेले जीवनमा यति कमायो भने पुग्छ भन्ने दिन कोरोना महामारी अघिसम्म थियो। तर, चल्तीको उखान अहिलेको सन्दर्भमा मेल खाँदैन। छिमेकी वा आफन्तकै पनि निधन हुँदा शोकधुन सुनेर दौडदै मलामी जाने अवस्था छैन अहिले। जीवनभर चिनेका, देखेका अनि सुनेकासम्मको मलामी गएर आफ्ना लागि सुरक्षित गर्नेले समेत यो समय घाटमा सुनसान वातावरणमा पुग्नु र जल्नु परिरहेको छ। परिवारले शवमा अँगालो हालेर समेत रुन पाउँदैनन्, मुख हेरेर दागबत्ती दिनु त परको कुरा। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याएको छ।

महामारी बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि थपिँदो छ। दैनिक कुनै न कुनै परिवारले आफ्ना सदस्य गुमाउँदैछन्। देशमा नयाँ रोगसँगै शोक पनि थपिँदो छ। डर र त्रासमा दिन काट्ने बाध्यता सबैको छ। तर, डरभन्दा पनि जिम्मेवारीलाई महŒव दिएर महामारीमा ज्यान गुमाएकालाई अन्तिम सलामी दिने सलामकर्ता नेपाली सेना अहिले हाम्रा लागि ‘मर्दाका मलामी’ हुन्, छिमेकी हुन् र आफन्त पनि। महामारीको युद्धमा होमिँदा मन भक्कानिए पनि सहेर शवको अन्तिम संकारमा जुट्ने नेपाली सेनाको त्यो टोलीलाई सलाम छ।

देशमा सधैं विपद् आउँदा अग्रपंक्तिमा खटिने नेपाली सेनाले अहिले नागरिकको मलामी बन्ने मात्रै होइन। अन्तेष्टिको सबै जिम्मेवारीमा काँध थापेको छ। सैन्य अधिकारीकै भनाइलाई लिँदा सेना देशकै खब्बा बन्नु परेको अवस्था छ। कोरोना महामारीमा राजनीतिक प्रदूषण फैलिएको समयमा महामारी नियन्त्रणसँगै शव व्यवस्थापनको खम्बा बनेको छ सेना। कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारी सेनाले भुलेका छैनन्। सेनाले गर्दै आएको शवको अन्तिम संस्कारमा संख्या थपिए पनि धर्मिक र सांस्कृतिक तथा परम्परागत मुल्यमान्यतालाई आदर र सम्मान गर्नमा सेना पछि छैन। हाम्रो परम्परामा सेनाले सलामी थपेको छ। यो शवलाई दिने सलामीले नेपाली जनताले गर्ने सेनाप्रतिको सम्मान अझै बढाएको छ।

अहिले देश क्रमशः लकडाउन र निषेधाज्ञाको मार्गमा छ। महामारी नियन्त्रणको अन्तिम विकल्प यो नै हो। यसलाई सेनाले एउटा युद्ध नै सम्झिएर पराजित गर्न बन्दुकको साटो पीपीई, स्यानीटाईजर र मास्कको सहायतामा मैदानमा उत्रिएको छ। सीमा जोगाउनु, पहरा फोर्नु र आगो निभाउनुभन्दा नयाँ महामारी नियन्त्रण र महामारीबाट सृजना भएका कुरा व्यवस्थापन गर्नु सैयौं गुणा चुनौतिपूर्ण छ। वर्ष दिन नबित्दै महामारीले रूप फेरेर जनताको स्वास्थ्यमा युद्ध गर्दा जोखिम आफैंलाई पनि छ। महामारीसँग लड्ने आत्मबल मुख्य हतियार बनाए पनि मुख नहेरी मानवको अन्त्येष्टि गर्नु चानचुने कुरा होइन। आफन्तले अन्तिम संस्कारमा ‘एकपटक मुख हेर्न मिल्दैन सर ?’ भनेर प्रश्न गर्दा भावनामा बहकिने अधिकार सेनालाई छैन। यो समयमा मन भकानिएर आँखा रसाएको अनुहार ‘फेससील’ले छोप्नु पर्ने बाध्यता छ। पर्ने र देख्ने कसैमा पीडा कम छैन।

महामारी सल्किएर डढेलै लागेको समयमा सानोतिनो गल्ती र असावधानीले पनि आफैं संक्रमित भएर ज्यानसमेत जाने जोखिम सेनामा छ। महामारीमा खटिँदा कति संक्रमित भएर आफैं उपचारको शैयामा पुगेका छन्, मृत्युको मुखमा पुगेका होलान्। परिवार र आफन्तको अवस्था के होला ? सोच्न फुर्सद छैन। देश र जनताको सुरक्षाका लागि जुनकुनै समयमा तयार हुने सेनालाई अप्ठ्यारो समयमा मात्रै राज्यले सम्झने होइन। राजनीतिक तरलता र अस्थिर सरकारको असर सेनाको आवश्यकता र चुस्ततामा पनि देखिन्छ।

समय अनुकूल आफूलाई तयारी राख्नुपर्ने सेनाको आवश्यकता भनेजति पूरा छैन। हतियार र गोलीगठ्ठा मात्रै सबै युद्धको तयारी हैन भन्ने पाठ यो महामारीबाट सरकारले सिक्न आवश्यक छ। अहिले शव व्यवस्थापनमा खटिरहँदा आवश्यक पर्ने पीपीई र शव पोको पार्ने झोलाको अभाव सेनाले झेलेको छ। यसमा समयमा ध्यान जाओस्। जीवनको अन्तिम यात्रा गर्नेहरूको घाटसम्मका सारथी पनि बनेका सेनाको आत्मबलमा कुनै समय ठेस नलागोस्।
अन्नपुर्णपोष्टबाट

२०७८ बैशाख ३०, बिहीबार १७:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय