महोत्तरी : पछिल्लो वर्षा महोत्तरीको वनक्षेत्र संरक्षणमा प्रभावकारी बनेको छ । हिजो आइतबार राती र शनिबार गरी दुई रात परेको पानीले वनभित्रको डढेलो नियन्त्रणमा सहयोग पुगेको हो ।
जिल्लाका वनक्षेत्रमा जताततै डढेलो बढ्दै गएबीच पछिल्ला दुई दिन परेको पानीले वनक्षेत्रको डढेलो निभाएको छ । गतसोमबार रातीदेखि मङ्गलबार बिहानभरि राम्ररी परेको पानीले वनक्षेत्रको डढेलो निभाएको हो । वर्षाले वनक्षेत्रको सोत्तर (पतिङर) भिजेर आगो नबलने भएपछि सजिलै डढेलो नियन्त्रण भएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । पछिल्लो वर्षाले पहिलेदेखिको डढेलो निभाएको र पतिङर भिजेर अब आगो नसल्कने भएपछि निकै राहत भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख विनोदकुमार सिंह बताउनुहुन्छ ।
“यसअघि हाँमी डढेलो निभाउँदा निभाउँदै हैरान भएका थियौं” डिभिजन प्रमुख सिंहले भन्नुभयो, “वर्षाअघि विशेष तालिम प्राप्त सुरक्षा टिम परिचालित गरेर डढेलो नियन्त्रणमा लागेका थियौं, एकातिर निभाउँदा अर्कोतिर डढेलोको खबर आउँथ्यो, हैरान भएका थियौ, वर्षाले राहत दिएको छ ।”
वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि सुरक्षा अभियानमा विशेष तालिम प्राप्त वन सुरक्षा जवान सम्मिलित टोली कार्यालयले खटाउँदै आएको छ । कार्यालयको विशेष सुरक्षा गस्ती र पछिल्लो वर्षा वन सुरक्षामा कारगर (उपलब्धीमूलक) भएको वनसम्बद्ध कर्मचारी बताउँछन् ।
जिल्लामा पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन निकै मद्दत गरेको छ । वर्षाले अब केही दिनभित्रै वसन्तमा नयाँ पालुवा फेरेका रुख लहलहाउने डिभिजन प्रमुख साह बताउनुहुन्छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक , कवुलियती र सागरनाथ वन परियोजनाको सहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । यद्यपि लगातारको राजनीतिक संरक्षित अतिक्रमणले वनक्षेत्र अब १६ हजार हेक्टर मुनि झरेको छ ।
पछिल्लो वर्षा खेतीपातीका लागि र बढ्दो गर्मी कम गर्न पनि राहत भएको छ । रुखिएको जग्गा खनजोत गर्न वर्षाले सजिलो बनाएको किसान बताउँछन् । त्यसैगरी अचाक्ली बढेको गर्मी पनि दुई दिनको वर्षाले घटाएको हुँदा सर्वसाधारणले राहत महसुस गरेका छन् ।


