
जनकपुरधाम : आफूहरुको माग पूरा गर्न ध्यान नदिएको भन्दै सुकुम्बासी र चुरे अभियानीद्वारा सडकमै सुतेर बिरोध प्रदर्शन गरिएको छ ।
उनीहरुले आईतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका छन् । सडकमै सुतेर उनीहरुले ‘सुकुम्बासी जिन्दावाद, चुरे दोहन बन्द गर, छानबिन प्रतिवेदन सार्वजनिक गर, प्रदेश सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।
सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासीहरु जग्गा पाउने अधिकारबाट बंचित भएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिल कुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरु रिले अनसन बस्दै आएका छन् ।
यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताएपनि कुनै ध्यान नदिएको बताए ।