काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ ।

प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार सो प्रणालीको सुरुवात गरे ।

प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ ।

प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np)मा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्नु अनुरोध गरेको छ ।

सोही अवसरमा मन्त्री कार्कीले एमडिएमएस प्रणालीले अवैधरूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उनको भनाइ थियो ।

उनले केही समयअघि नेपालको अर्थतन्त्रको अवस्था श्रीलङ्काको जस्तो हुन लागेको भनी भ्रम सिर्जना गर्न खोजिएको भन्दै मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत रहेको प्रष्ट पारे । उनले भने, ‘सचेत हुन जरुरी थियो, तर नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुँदैन थियो र श्रीलङ्काको जस्तो हुन पनि दिनुहुन्न, हामीसँग धेरै सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।’

मन्त्री कार्कीले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा समुन्नत नेपाल, समृद्ध नेपाली र आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियामा सम्पन्न मुलुकमध्येका नेपाली चिनाउने अभियान लिएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरे ।

सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भ उल्लेख गर्दै एमडिएमएस प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

‘सञ्चार प्रविधिको विकासले अहिले संसार नै गाउँमा परिणत भएको छ, त्यसका जति फाइदा छन्, त्यति नै बेफाइदा पनि छन्, त्यसतर्फ पनि सचेत गराउँदै जलस्रोत र पर्यटनको विकास भए जसरी आगामी दिनमा नेपाललाई आइटी हबका रूपमा परिणत गर्न सकेको खण्डमा विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना उत्तिकै छ’, मन्त्री कार्कीले भने ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले एमडिएमएस प्रणाली सुरु गरेसँगै आउने विविध समस्यालाई पनि सँगै समाधान गर्दै लैजानुपर्नेमा जोड दिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल आयातकर्ता/विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अपिल गरे ।

सामसुङ मोबाइलको व्यापार गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले एमडिएमएस प्रणालीले मोबाइल बिक्री वितरण क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

२०७९ भाद्र ३१, शुक्रबार ०७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय