महोत्तरी : मधेसमा ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) उत्पादन गरेर किसानले गुजारा गर्दैआएका छन् । किसान। सन्तुलित वर्षा नहुँदा अपेक्षित धान खेती लाउन नपाएका किसानलाई यसपालि दसैँ खर्च र त्यसपछिको गुजारा ओलबाटै गर्ने ध्याउन्न छ । अल्प वर्षाले मुख्यबाली धान खेती लाउन नपाएपछि ओलकै आम्दानीले वर्ष गुजार्नुपर्ने किसान बताउँछन् । जिल्लाका सुदूर उत्तरवत्र्ती बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा व्यावसायिक रुपमै ओलखेती हुँदै आएको छ । त्यसैगरी सुदूर दक्षिणपूर्वी मटिहानीका बस्ती पनि तरकारी खेतीको पकेटक्षेत्र मानिँदै आएको छ ।
ओल थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीभन्दा चोटिलो वर्षा खेप्नसक्ने भएको हुँदा यो तरकारी बाली किसानको रोजाइमा पर्ने गरेको छ । थोरै लगानी र कम मिहिनेतमै अपेक्षित उत्पादन लिन सकिएपछि यसको व्यावसायिक खेतीतर्फ किसानमा आकर्षण बढेको हो । अहिले जिल्लाका बजारमा नयाँ उत्पादित ओलको बजार जम्दैछ । मधेसमै उम्दा तरकारी मानिने ओल खनेको धेरै समयसम्म नबिग्रने र बजार भाउ विचार गरेर बेच्न पाउने भएपछि यो किसानको रोजाइमा पर्ने गरेको हो ।
सिँचाइको स्थायी उपाय (सधैँभरि कुलो नहर लाग्ने) नभएको र माटो पनि दोरस (बालु माटो सराबरी) भएको हुँदा जिल्लाको उत्तरी क्षेत्रका किसान अन्नबालीभन्दा फलपूmल र तरकारी खेतीमा रम्ने गरेका छन् । तरकारी बालीमध्ये पनि अरूभन्दा घामपानी खप्नसक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो बताउनुहुन्छ ।
“यसपालि बन्दागोभी, भण्टा, खुर्सानी र रामतोरइका बोट तथा अरू लहरे तरकारीका बेला (लहरा) राम्ररी हुर्कन बढ्न सकेनन्”, उहाँले भन्नुभयो, “धन्न ओलले गुजारा चलाउँछ कि भन्ने आश बाँकी छ ।” दसैँ, दीपावली (तिहार) र छठपर्वको मुखमा नगद खर्चको मेसो ओलमै अडेको महतोको भनाइ छ ।
जिल्लाको उत्तरी क्षेत्रका यी चार नगरक्षेत्र र सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका बस्तीमा ओलखेती बाक्लो लगाइन्छ । प्रतिकट्ठा १०÷१२ क्विन्टल उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौँ नबिग्रने हुँदा फुर्सद र भाउ बुझेर बजार लैजान पाइने किसान बताउँछन् । जिल्लामा अहिले करिब तीन सय बिघा हाराहारी क्षेत्रफलमा ओल खेती रहेको छ ।
खासमा गौशाला र भङ्गाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीबाटै आपूmले बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी लिने गरेको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीका अरुण कुशवाहा बताउनुहुन्छ । “यो हाम्रो नगदको जोहोमात्र हैन, घरगुजाराको सबै थोक हो”, उहाँ भन्नुहुन्छ, “चामल, पीठो, मरमसला सबैकुरा ओल बेचेर लिन्छौँ ।” स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो ।
ओलको तरकारीका साथै अचारको परिकार प्रसिद्ध छ । मधेसमा पाहुनाका लागि होस् वा खास अवसरको भोज समारोहमा होस् , ओलको चटनी विशिष्ट परिकारमा गनिन्छ । खाइएको वा खुवाइएको अन्य परिकारबारे खासै चर्चा नभए नगरिए पनि यस्ता अवसरमा ओलको परिकारको चर्चा भने सबैजसोले गर्छन् । यसले मधेसमा ओलको महत्व बुझ्न सकिने बर्दिबास–१४ का सुकन महतो बताउनुहुन्छ ।
आफ्नो वरिपरि शीतभण्डारको सुविधा भए ओल वर्षभरि नै टिकाउन सकिने किसान बताउँछन् । प्र्रतिकट्ठा रु पाँच÷सात हजार लगानीभित्र गर्न सकिने ओलखेतीबाट आम्दानी प्रतिकट्ठा रु २५÷३० हजारसम्म लिन सकिने किसानको भनाइ छ । उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि रु ८० प्रतिकिलो सरदर नै बिक्री हुने गरेको भङ्गाहा–४ का चन्देश्वर राय दनुवार बताउनुहुन्छ । चाडपर्व विशेषमा त यसको भाउ सय नाघ्ने गरेको बजारु उपभोक्ता बताउँछन् ।
नगरभरि नै ओल खेती हुने गरेकाले बर्दिबास, भङ्गाहा, गौशाला र औरहीका किसानले आफ्नो उत्पादन एकत्रित गरेर जलेश्वर, जनकपुर, मलङ्गवासहितका नजिकका बजार र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्पादन पु¥याउने गरिएको भङ्गाहा–४ का सत्यनारायण यादवको भनाइ छ । आफ्नो क्षेत्रको ओल बीउका लागि कैलाली, कञ्चनपुरसम्म पु¥याइने गरिएको यादवले बताउनुभयो ।
प्रत्येक वर्ष चैत÷वैशाखमा रोपिने ओल भदौै÷असोजभरि खनेर निकालिन्छ । विषादि छर्किनु नपर्ने, हल्का सिँचाइमै गर्न सकिने र चार महिनाभित्रै उत्पादन लिन सकिने भएपछि ओल किसानबीच लोकप्रिय हुँदै गएको हो । अचेल विभिन्न कृषि कार्यालय, बीउबिजन केन्द्र र बीउ उत्पादक आफ्ना स्थायी ग्राहक नै बनेका यहाँका किसानको भनाइ छ । किसानले प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाई दिन आ–आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । शीतभण्डारको व्यवस्थापन हुनसके ओलबाट अहिले लिइरहेको आम्दानी दोब्बरले बढ्ने किसानको भनाइ छ ।