काठमाडौं : खोटाङका अजय बर्देवा १० वर्षका भए। दुई वर्ष अगाडि विद्यालयमा साथीसँग खेल्दै गर्दा उनी चिप्लेर लडे। टेबलमा ठोक्किए। एउटा आँखामा चोट लाग्यो। विगत पाँच महिना यतादेखि उनले दुवै आँखा देख्न छाडे। पढाइमा उनी निकै मेहनती थिए। गायक बन्ने उनको रहर छ। कुनै दिन आँखा देखे म पनि धेरै पढेर ठूलो मान्छे हुन्छु भनेर छोराले भनेको उनका बाबु चन्द्रबहादुरले बताए।

छोराको उपचारका लागि उनी विभिन्न अस्पताल पुर्‍याए। झापास्थित घोपाक्याम अस्पतालमा पुर्‍याउँदा त्यहाँका डाक्टरले अजयको एउटा आँखा मात्र बन्द भएको बताएका थिए। तर, पाँच महिना अगाडि छोराको दोस्रो आँखा पनि बन्द भएपछि उनलाई निकै चिन्ता परेको छ। पारिवारिक र आर्थिक अवस्था कमजोर छ। यसकारण उपचारका लागि कठिनाइ भएको उनी बताउँछन्। छोरालाई लिएर काठमाडौंको तिलगंगासम्म आइपुगेका छन् उनी।

तर, आर्थिक अवस्था कमजोर भएर चिकित्सकहरूले भनेअनुसार आफूले उपचार गराउन नसकेको उनको गुनासो छ। आफ्नो दुःख बिसाउँदै उनले भने, ‘मलाई सबैको साथ सहयोगको खाँचो छ। सबैले सहयोग गरिदिए मेरो छोराले पनि आँखा देख्थ्यो कि ?’

आर्थिक अवस्था कमजोर भएका कारण चन्द्रबहादुरलाई उनकी श्रीमतीले पनि छाडेर गइन्। छोरालाई अस्पतालमै राखेका बेलामा श्रीमती भागेको उनले दुखेसो पोखे। उनी कहाँ छिन् भन्ने अहिलेसम्म पत्तो छैन। दुई छोरा र एक छोरीको जिम्मेवारी उनमा आइलागेको छ। घरमा अपांग भएका बूढा बुबा छन्। सबै व्यवहार आफैंले गर्नुपर्दा उनलाई निकै गाह्रो परेको छ।

छोरालाई उपचारका लागि भारत लैजान उनलाई चिकित्सकले सल्लाह दिएका छन्। उनको एउटा आँखा पूर्णरूपमा बन्द भइसकेको छ। तर, अर्को आँखामा सल्यक्रिया गरेर सफल भए उनले देख्न सक्ने चिकित्सकले बताएका छन्। यसमा पनि ढिला हुन गएमा उक्त आँखाको उपचार पनि सम्भव नहुने चिकित्सकले बताएका छन्। तर, यसका लागि करिब ५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिन्छ। यति धेरै रकम आफ्नो लागि असम्भव भएकाले उनी छोराको उपचारमा सहयोग पुर्‍याइदिन आग्रह गर्दै हिँडेका छन्।

२०७९ कार्तिक २१, सोमबार १०:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय