काठमाडौं : भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाण्डौबाट गृह जिल्ला जानेको सङ्ख्या बढेको छ ।

कतिपय दल र उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाण्डौबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटकाे व्यवस्था गरेर भोट खसाल्न जाँदैछन् । अहिले नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिड छ ।

उम्मेदवारले नै बस रिजर्भ गरेर लैजाने व्यवस्था मिलाएका र आफू परिवारसँगै भोट खसाल्न जान लागेको काठमाण्डौको बालुवाटार बस्दै आएकी बर्दिया मधुवनकी हरिकला चौधरीले बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर पछिल्लो तीन दिनमा झण्डै दुई लाख जना बाहिरिएका छन् ।

आज बेलुकासम्म नै काठमाण्डौ छाड्नेको सङ्ख्या थप बढ्ने अनुमान छ । हिजोदेखि मतदानस्थल रहेका शिक्षण संस्था बन्द भएका र आज शनिवार तथा भोलि र पर्सि सरकारले सार्वजनिक बिदा दिएका कारण भोट खसाल्न जानेहरु बढेका छन् ।

यसपालि दशैँ, तिहार र छठ मनाउन गाउँघर गएका कतिपय चुनावका कारण काठमाण्डौ फर्किएका छैनन् । चुनावका लागि मात्रै झण्डै पाँच लाख यात्रु काठमाण्डौबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

भोलि भोट हाल्ने दिन अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने निर्वाचन आयोगले जानकारी गराइसकेको छ ।

२०७९ मंसिर ३, शनिबार ०७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय