
नेपालवाणी / जनकपुरधाम ।
धनुषामा जग्गा खरिदको विषयमा भएको विवादमा एक जनाको हत्या भएको छ । बाख्राले बाली खाएको र जग्गा खरिदको विषयमा भएको दुई पक्षीय विवादमा घरेलु हतियार प्रहार गरी एकजनाको हत्या भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
हत्यामा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला विहारी नगरपालिका ४ रमौलका ४१ वर्षिय लालबाबु यादव र सोही ठाउँ बस्ने ३१ वर्षिय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मिथिला विहारी नगरपालिका ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवलाई बिहीबार राति साढे ८ बजे घुर ताप्दै गरेको समयमा घरेलु हतियार बन्चरो प्रयोग गरी हत्या गरिएको छ । सुरज यादवको परिवारको समूहले घरेलु हतियार सहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए ।
घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो छोरा आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाका लागेको छ भने एउटा हातको दुईवटा औंला छिनाएको छ । अन्य समान्य घाइतेहरुको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मतृकका छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर आगो ताप्न बसेको बेला सुरज यादव सहित १० जनाको समूहले घरेलु हतियार बञ्चरो, खुकुरी सहित आक्रमण गरको आरोप छ । ‘बुबालाई एक्कसी बञ्चरो हानेपछि वहाँ चिच्याउनु भो, हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण भयो । बुबाको बञ्चरोको प्रहारले त्यही मृत्यु भयो । हामी घाइते भयौं । अरु कुराहरु थाहा भएन ।’ अशोकले गहभरि आँसु चुहाउदै भने ।