फाइल फोटो / नेपालवाणी

महोत्तरी : “खै यसो गर्दा होलाकी भन्यो, जीउज्यान लगायो , तर केही हुने छाँट देखिन्न” उर्जावान उमेर खेतीमा घोटनु भएका महोत्तरीको भङ्गाहा-४ रामनगरका ६५ वर्षीय किसान सत्यनारायण यादव भन्नुहुन्छ, “खै केले साथ नदिएको हो कोनि ! कुनै खेतीले पनि उभो नलागिने भइयो ।” पछिल्ला १० वर्षयता नगद आर्जनका लागि तरकारी खेतीमा नङ्रा खियाउँदै आउनुुभएका यादव मुख्यतः समयले साथ नदिदा अपेक्षित सफलता नपाएको बताउनुहुन्छ ।

“म २० वर्षको उमेरदेखि खेतीमा घोटिएको किसान हुँ, दिगो तवरले कुनै खेतीमा जम्न सकिएन” यादव भन्नुहुन्छ, “खासमा मौसमकै राम्रो साथ नपाउँदा खेतीले उँभो लागिएन ।” खेती गर्न थालिकन धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आई पुगेको यादवको अनुभव छ । यादवको जग्गामा अहिले लहरे तरकारी (फर्सी, लौका, घिरौंला, करेला, बोडीआदि) मुख्य बाली हुन् । पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ ।

यादवकै छिमेकी रामबहादुर ठाकुर, बहुरा महतो, हरि महतो र गङ्गाप्रसाद महतो पनि पछिल्ला केही वर्षयता तरकारी खेतीमै घोटिनु भएको छ । पहिले बाबु(पिता) को सहयोगी भएर अन्नखेतीमा जम्नुभएका ठाकुर (रामबहादुर ठाकुर)लाई क्रमशः पछिल्ला वर्षमा पानीको तुक नमिल्दा सुर्ती खेतीमा लागेको राम्रै हेक्का छ । पछि ४० को दशक (२०३० देखि २०४० का बीच) बारनघर (सुर्ती सुकाउने घर) लाई दाउराको कमी हुँदै गएपछि उखुखेती हुँदै केही वर्षयता तरकारी खेती गर्न लागिएको उहाँ बताउनुहुन्छ ।

“पहिले यो बेला यस्तो मौसम हुन्छ भन्ने अड्कल मिल्थे, त्यसैले त्यतिखेर अन्नबाली (धान, गहुँ, मकै, कोदोआदि) राम्रै फलाइन्थ्यो, पछिपछि पहिलेका मौसमका अड्कल मिल्न छाडे, सन्तुलित वर्षा हुन छाड्यो, बिस्तारै अन्नखेती छुट्दै गए” ६० वर्षीय ठाकुर पुराना खेतीका कुरा सम्झदै भन्नुहुन्छ, “अनि सामान्य सिञ्चाइले हुने सुर्ती खेती थालियो, पछि दाउरा पाइन छाडेपछि त्यो पनि छुट्यो ।” आफ्नै जीवनकालमा कैयौं खेतीका अनुभव सँगाल्नु भएका ठाकुर सुर्तीपछि उखुहुँदै अहिले तरकारीखेतीमा आइपुगेको बताउनुहुन्छ ।

मधेशको मुख्य खेती त अन्नबालीभित्रको धान नै भएपनि यसलाई पानी पर्याप्त चाहिने हुँदा किसान समस्यामा पर्छन् । “कुलोनहरको स्थायी सिञ्चाइको प्रबन्ध छैन, आकासे पानीकै भर हो, पानी सन्तुलित तरिकाले पर्न छाडेपछि धान खेती थेग्न सकिएन”बर्दिबास नगरपालिका-९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्रसिंह कुशवाहा भन्नुहुन्छ, “कतिथरि बाली फेर्दै अब तरकारी खेतीमा पुगेका छौं ।” पछिल्ला केही वर्षयता तरकारी बालीमा यसअघि नदेखिएका थरिथरिका किराको प्रकोप बढेको कुशवाहा बताउनुहुन्छ ।

पहिलेपहिले महिनाका आधारमा गरिने ऋतु अड्कलको मौसम नहुनु, पानीका स्रोतहरु सुक्दै मासिदै जानु , भरपर्दो बीउविजन र मल समयमा नपाउनु र फसलमा थरिथरिका किराको प्रकोप बढ्दै गएपछि किसानमा निराशा बढेको छ । “हुँदाहुँदा किरा मार्न प्रयोग गरिने विषादी पनि प्रभावहीन बने,

उ त्यहाँ भाण्टाको बोट हेर्नोस, कति थरीका दवाई (विषादी) छरी सके, केही टेरेको छैन” बारीका केही पात ओइलिदै गएका भाण्टाका बोट देखाउँदै कुशवाहाले भन्नुभयो, “सल्लाह दिने कोही जेटी, जेटिए (कृषि प्राविधिक) पनि भेटिदैनन् , के गर्ने होला ?” विषादी प्रयोग नगरी खेती हुन सक्दैन भन्ने जिज्ञासामा कुशवाहाले प्रयोगपछि बारीमा असरल्ल मिल्किएका विषादीका खोल देखाउँदै भन्नुभयो, “यी बिना त तरकारी खेती गर्छु भनेर नसोचे हुन्छ ।”

मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको किसानको अनुभव छ । “म यहीं हुर्केको हुँ, १५/२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी दवाई पनि थिए कि थिएनन् ? अहिले त यी थरिथरीका किरा र रोगले हतो हैरान नै पारेका छन्” पशुपतिनगरकै अर्का किसान रामविनोद महतो भन्नुहुन्छ । पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झदै महतोले अचेलभने कैयन थरीका झार उम्रने र त्यसलाई मास्न दवाई नै प्रयोग गर्ने गरेको बताउनुभयो ।

tarkari

पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झदै यहाँका किसान पछिल्ला वर्षहरुमा क्रमशः समयमा पानी नपर्ने, कहिले कुसमयमै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखु खेती हुँदै अहिले नगद आर्जनका लागि तरकारी खेतीमा लागेको बताउँछन् । पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षहरुमा मेल खान छाडेपछि खेती पनि बद्लिदै जानु परेको महतोसहितका किसानको भनाइ छ ।

“हेर्नोस न, असार-१५ ताका मज्जाले पानी पर्छ भनेर धान रोप्ने रोपार खोजिन्थ्यो, त्यस्तै हुन्थ्यो पनि” जिल्लाकै गौशाला-४ रजखोरका ६५ वर्षीय किसान रिझन साहले आपूm २०/२२ वर्षको तन्नेरी हुँदाका कुरा सम्झदै भन्नुभयो, “बर्खा लागेपछि पानी परी रहन्थ्यो, कुला चल्थे, त्यस्तो रोगव्याधि पनि लाग्दैनथ्यो, रामै्र अन्न भित्रिन्थ्यो ।” तर पछिल्ला १५/२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ्ग (सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम) हाल्नु परी रहेको साह बताउनुहुन्छ । यसको ठ्याक्कै कारण थाहा नभएपनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीहरुमा बालु ढुङ्गा निकाल्न ठूलठूला मसिन (उत्खनन्मा प्रयोग गरिने यान्त्रिक उपकरण) चल्न थालेपछि यस्तो भएको जान्ने बुझ्नेले बताउने गरेका साहको भनाइ छ ।

“हाम्रो खेतबारीमा कुलो ल्याइएका नदीमा साउन भदौमै कमिला हिड्छन् , कहिलेभने यसअघि कहिल्यै नब्यहोरिएको बाढी आएर खेतबारी काटेर बगर बनाउँछ” गौशाला-६ फुलकाहाका किसान गगनदेव यादव भन्नुहुन्छ, “बाबु बाजेले सुनाउनु भएका पुराना खेतीपातीका कुरा मेल खान छाडे” उहाँले अगाडि भन्नुभयो, “खै अझै के के देख्न बाँकी छ कोनि ?” पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु निलगाई, बँदेल , दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उहाँको थप गुनासो छ ।

बर्दिबास-९ पशुपतिनगरका महेन्द्रसिंह कुशवाहा, जवाहर महतो , रामविनोद महतो, रामचन्द्र थापा मगर, उत्तमबहादुर राना, रामबहादुर राना, रामदेव महतो र ब्रह्मदेव महतो तरकारी खेतीमा जमेका किसान मानिनुहुन्छ । उमेरले ५० वर्ष नाघी सकेका उहाँहरु सबैको चिन्ता पनि रिझन साहको जस्तै छ । छिमेकको भङ्गाहा नगरपालिका-४ का ६० वर्षीय सत्यनारायण यादव, ५७ वर्षीय रामजी यादव , ५४ वर्षीय चन्देश्वर राय दनुवार र ६७ वर्षीय रघु महरा पनि मौसमले साथ नदिदा बर्सेनि खेती फेर्नु परेको बताउनुहुन्छ ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अहिलेसम्म कुलो र नहरको सिञ्चाइ पुगेको १० प्रतिशत क्षेत्रफलमात्र छ । अनुकूल वर्षा नहुँदा कुलोनहरका पानीका स्रोतका मूहान पनि पछिल्ला वर्षहरुमा सुक्न थालेका छन् । यसबाहेकका अन्य आकासे पानीको भरका जग्गा त आकाशतिरै फर्केर खेती गर्नुपर्ने हुँदा आफ्नो वसमा केही नभएको यसभेगका किसान विरक्तिदै बताउँछन् ।

जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलवाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नु भएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी , पहिरोजस्ता प्रकोप र फरक खालका वनष्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । यसरी मौसममा परेको प्रभावअनुसार आपूmलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको यादव बताउनुहुन्छ ।

“जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधन, स्रोतको अभावमा यसबाट बढी प्रभावित छन्” यादव भन्नुहुन्छ, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रसायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने यादवको थप भनाइ छ ।

२०८० बैशाख ३१, आईतवार १०:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय