अर्थमन्त्री पुन – व्रिफकेश काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको व्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । संविधान अनुसार जेठ १५ मा संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गरिरहेका अर्थमन्त्री पुनले चालु आवको भन्दा ६.२ प्रतिशतले बजेटको आकार बढाएको जानकारी दिए । चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

अर्थमन्त्री पुनका अनुसार आगामी वर्षका लागि राजस्व संकलनको लक्ष्य १२ खर्ब ६० अर्ब रुपैयाँ राखिएको छ । चालु आवमा यस्तो लक्ष्य १२ खर्ब ४८ अर्ब थियो । यो प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँडबाट जाने राजस्व बाहेक संघीय सरकारका लागि मात्र हो । यस्तै अर्थमन्त्री पुनले ल्याएको कुल बजेटमा राजस्व बाहेक वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड रुपैयाँ आउने अनुमान गरेका छन् ।

चालु आवमा यस्तो अनुदान ४९ अर्ब ९४ करोड राखिएको छ । राजस्व र अनुदान प्राप्तीले खर्च धान्न नसक्ने भए पछि पुनले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने तय गरेका छन् । जसअनुसार वैदेशिक ऋण २ खर्ब १७ अर्ब र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाइने छ । अर्थमन्त्री पुनका अनुसार आगामी वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको छ ।

यो चालु आवको भन्दा ५० अर्ब रुपैयाँ बढी हो । यस्तै वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा पनि पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापनमा धेरै रकम विनियोजन भएको छ । यस्तै सरकारले आगामी वर्षका लागि चालु खर्चमा ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो चालु आवको बजेट बराबर जस्तै हो ।

यस्तो छ चालु आर्थिक वर्षको बजेट (पूर्णपाठ)

२०८१ जेष्ठ १५, मंगलवार २०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय