दार्चुला: नेकपा एमाले दार्चुलाका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले मंगलबार जिल्ला प्रतिनिधिमण्डलसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग शीतल भेट गरेका थिए। तर बिहीबार भने उनी अर्का अध्यक्षका दावेदार ईश्वर पोखरेलको पक्षमा खुलेर उभिएका छन्।
दार्चुलामा अहिले १२ जना महाधिवेशन प्रतिनिधि रहेका छन्, जसमा अध्यक्षसहित धेरैजसो नेता पोखरेल पक्षमा रहेको राजनीतिक विश्लेषकहरूको अनुमान छ।
अध्यक्ष घर्ती एमाले विभाजनको समयमा समाजवादी पार्टीतर्फ लागेका भए पनि पछि ‘घर फर्क अभियान’ मार्फत एमालेमा पुनः फर्किएका थिए। अहिले दार्चुलामा समाजवादीबाट फर्किएका नेताहरूको महाधिवेशन प्रतिनिधिमाथि प्रभाव र पकड रहेको देखिन्छ।
जिल्ला अधिवेशनताका घर्तीलाई जिल्ला अध्यक्ष बनाउन तत्कालीन उपाध्यक्ष इस्वर पोखरेल स्वयं दार्चुला पुगेका थिए। घर्ती उनै नेतामध्ये एक मानिन्छन्, जो कहिलेकाहीँ अध्यक्ष ओलीकै निर्णयलाई पनि चुनौती दिने गर्छन्। दार्चुलामा कसैले ओलीको समर्थनमा बोले मात्रै पनि घर्तीले सिधै कारबाही गर्ने गरेको स्थानीयहरू बताउँछन्।
यस्तै, तिन्कर घोरेटो मार्गमा बजेट ल्याएको श्रेय सामान्यतया अध्यक्ष ओलीलाई दिइँदै आए पनि, घर्ती भने यो उपलब्धिको जस ईश्वर पोखरेललाई दिने गर्छन्। ओली पक्षमा खुलेर बोल्ने एक जिल्ला कमिटी सदस्यमाथि घर्तीले पहिले कारबाहीसमेत गरेका थिए।
दार्चुलाको स्थानीय एमाले राजनीति अहिले ओली र पोखरेल पक्षबीच तीव्र शक्ति प्रतिस्पर्धामा पुगेको देखिन्छ, जहाँ अध्यक्ष घर्तीको निर्णय र झुकावले आगामी महाधिवेशनको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

