महोत्तरी, १७ माघ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीले महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यही आउने फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि उमेद्वार र राजनीतिक दलका कार्यकर्ता बस्तीबस्ती पस्न थालेसँगै यहाँ चुनावी सरगर्मी निकै बढेको हो । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण आम मतदाताका मुख्य मुद्दा बनेको देखिदो छ ।
जिल्लाको सुदुर उत्तरका बर्दिबास नगरपालिकाका १४ (सबै) , गौशालाका १२( सबै) र भङ्गाहाका चारवटा वडा (वडानम्बर ३, ४, ५ र ९) समेत् जम्मा ३० वडा महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा पर्छन् । जिल्लाका रातु, जङ्घा, मरहा, टुटेश्वर, ओक्सी, बडहरी, भब्सी र खयरमारासहितका नदीको उद्गमस्थल चुरे नै हुँदा बर्सेनि बाढीबाट नदी कटानको दुःख यस क्षेत्रका बासिन्दाले खेप्दै आएका छन् । यसैगरी जिल्लामा अनियन्त्रित नदी उत्खनन् र वन सम्पदाको दोहनले बाढीले हुने क्षति बढाउँदा यस क्षेत्रका बासिन्दा आजित छन् । त्यसैले यहाँ नदी नियन्त्रण र वन सम्पदाको संरक्षण आम जनताको चासो बनेको यसै क्षेत्रको भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरे विज्ञ डा. विजयकुमार सिंह बताउनुहुन्छ ।
“यहाँको मुख्य दुःख नै चुरेका थुम्का र नदीहरुमा अनियन्त्रित उत्खनन् तथा वन सम्पदाको विनास र अतिक्रमण हो, यसले बर्सेनि प्राकृतिक विपत्ती बढाउँदै लगेको छ” डा. सिंह भन्नुहुन्छ, “यसका लागि नीति निर्माणकै तहमा समस्या छन् , त्यसैले प्रतिनिधिसभाको निर्वाचन अभियानमा दल र उमेद्वारले यी पक्षमा स्पष्ट दृष्टिकोण राख्नै पर्दछ ।”
विज्ञजस्तै यस क्षेत्रका सर्वसाधारण पनि बर्दिबास, गौशाला र भङ्गाहा नगर क्षेत्रमा अवैेधानिक रुपमा सञ्चालित ५० भन्दा बढी क्रसर उद्योगले गर्दै आएका अनियन्त्रित उत्खनन्ले आजित छन् । “हेर्नुहोस् , जथाभावी ठूलठूला खाल्डा बनाएर बालुढुङ्गा निकालिदो छ, बर्सेनि यी खाल्डामा परेर मान्छे मर्दाछन् , कहिल्यै नचेत्ने भए” भङ्गाहा–४ रामनगरका हिरालाल महतो भन्नुहुन्छ, “अहिले चुनावका बेला मुख्य रुपले दलहरुबाट यसबारे स्पष्ट धारणा सार्वजनिक गरिनु पर्दछ ।
पूर्वपश्चिम राजमार्गको उत्तर दक्षिणमा पर्ने यो क्षेत्र बर्खाकालमा बाढी कटान र हिउदमा सुख्खाको मारमा पर्दै आएको छ । अधिकांश बलौटे माटो भएको यो क्षेत्रका बासिन्दाको मुख्य पेसा खेतीपाती नै हो । यहाँका सबैजसो नदीको उद्गमस्थल रहँदा पनि सिँचाइको भरपर्दो अवस्था नरहँदा यहाँका किसान आकास ताकेर खेती गनुपर्ने नियति भोग्दैछन् । त्यसैले आसन्न निर्वाचनमा आम मतदाता वन सम्पदा संरक्षण, नदी नियन्त्रण र सिँचाइ सुविधाका विषयमा दल र उमेद्वारबाट प्रतिबद्धता खोज्दैछन् ।
आसन्न निर्वाचनका लागि यहाँ १३ राजनीतिक दलका र स्वतन्त्र १२ गरी जम्मा २५ जना उमेद्वार प्रतिष्पर्धामा छन् । जसमा दलबाट दुई र स्वतन्त्र तीनसमेत् पाँच जना महिला उमेद्वार हुनुहुन्छ । निर्वाचन अभियानमा मतदातासँग भेट्न पुग्ने सबैजसो उमेद्वारले अहिले यी प्रश्नको सामना गर्नुपरेको मङ्गोल नेशनल अर्गनाइजेसनका उमेद्वार रमेशकुमार सिंह बताउनुहुन्छ । “मतदाताले मुख्य रुपले सिँचाइ, नदी नियन्त्रण र सम्पदाहरुमाथिको अवैध दोहन नियन्त्रणको विषय उठाएका छन्” सिंह भन्नुहुन्छ, “सबैको साझा सङ्कल्पले यी मुद्दाको समाधान खोजिन पर्दछ ।”
यस क्षेत्रमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी , जनता समाजवादी पार्टी , श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीका उमेद्वार दलगत प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । यसैगरी प्रतिष्पर्धामा सामेल अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन , नेकपा संयुक्त र उज्यालो नेपाल पार्टी छन् । यी दलका १३ अतिरिक्त स्वतन्त्र उमेद्वार १२ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।
निर्वाचन कार्यक्रम तालिकाअनुसार माघ ६ गते मनोनयनपत्र दर्ता गरेर अन्तिम सूचीमा रहेका उमेद्वारले माघ ९ गते निर्वाचन चिन्ह पाएसँगै मतदातासँगको भेटघाट बढाएका छन् । उमेद्वार र दलका कार्यकर्ताको सघन आउजाउ बढेसँगै यहाँका बस्तीबस्तीमा चुनावी माहोल तात्दै गएको छ । आम सर्वसाधारण आआफ्ना ठाउँका समस्याबारे कसले के भन्दैछन् रुचीपूर्वक सुन्दैछन् ।
“अहिले त भर्खर उमेद्वार आउन थालेका छन् , हामी यिनीहरु के भनेर भोट माग्दैछन्, ध्यानपूर्वक सुन्दैछौ” भङ्गाहा–४ रामनगरका ३० वर्षीय युवा रामईश्वर ठाकुर भन्नुहुन्छ, “भ्रष्टाचार अन्त्य र सुशासनको अनुभूति जनतालाई दिलाउनु मुख्य कुरा हो, यस कुरामा कसले विश्वास दिलाउँछन् , यो हेर्न बाँकी छ ।” अब टालटुले कुरामा परेर भोट दिने कुरा नत्यागे पछिसम्म कुशासनको चक्रमा पेलिनु पर्ने ठाकुरको मत छ । यसपालि नदी र वन सम्पदाको अवैध दोहन नियन्त्रण, तटबन्ध निर्माण र सिँचाइका विषय प्राथमिकतासाथ उठाएर दल र उमेद्वारको जवाफ खोजिने ठाकुर बताउनुहुन्छ ।
उमेद्वार घरआँगनमै आइपुग्दा सर्वसाधारण किसान समयमा बीउविजन नपाएको, सिँचाइको प्रबन्ध नहुँदा आकासे पानीको भरले खेती गर्नु परेको र आफ्नो उत्पादन कौडीको मोलमा बेच्नुपरेको दुखेसो सुनाउन चुक्दैनन् । यसरी आफूहरुले समस्या सुनाउँदा सबैजसोले कृषि आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका यसअघिकै चुनावदेखि नै सुन्दै आइएको बर्दिबास–७ मनहरिपुरका ७५ वर्षीय किसान विन्देश्वर यादव बताउनुहुन्छ । “धेरैजसोका उही पुरानै कुरा छन् , हामी गर्छौ भन्छन्” यादव भन्नुहुन्छ, “सबै आउन् , सबैको कुरा सुनौ , अनि भोट दिने कुरा निधो गरौला ।”
उमेद्वार र दलका कार्यकर्ता बस्तीबस्तीमा मतदाता भेट्दै गर्दा अहिले जताततै चुनावी चर्चा बढेको छ । यसपालिको निर्वाचन निश्चित समयावधि पहिले नै हुन लागेको हुँदा धेरै कुरा बिचारेर मतदान गरिने नयाँ पुस्ताका युवा बताउँछन् । “हाम्रो कसैसँग शत्रुता छैन, तर मुख्य कुरा योग्य उमेद्वार छनौटको हुनैपर्छ” गौशाला–१० लक्ष्मीनियाँ बटुवाका २८ वर्षीय युवा विवेक कुशवाहा भन्नुहुन्छ, “जनताका आवश्यकता बुझ्नसक्ने र विधिको अवलम्बन गर्ने उमेद्वार चयन गरिनु पर्छ ।” आफूहरु यसपालि नाता, सम्बन्ध , जातपातका कुराबाट पर रही योग्य उमेद्वार पहिचान गरेर मतदान गर्ने कुशवाहाको भनाइ छ ।
निर्वाचनसँग जोडिएर उमेद्वार र दलका कार्यकर्ताको बढ्दो चहलपहल र बस्तीबस्तीमा सर्वसाधारणले गर्ने चुनावी आँकलनले अहिले महोत्तरी–१ को माहोल चुनावमय बनेको छ । निर्वाचनमा यसक्षेत्रबाटै विगतमा तीन पटक प्रतिनिधित्व गरिसक्नुभएका पूर्वमन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टीबाट र निवर्तमान प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी नेकपा (एमाले) बाट उमेद्वार हुनुहुन्छ । यसैगरी मुकेश काफ्ले नेपाली काँग्रेसबाट , प्रमोदकुमार महतो राष्ट्रिय स्वतन्त्र पार्टीबाट र योगनारायण महतो जनता समाजवादी पार्टीबाट उमेद्वार हुनुहुन्छ । अहिले निर्वाचन कार्यक्रमको प्रारम्भिक चरण भएको हुँदा परिणामबारे अड्कल गर्ने बेला नभएको बुद्धिजीवी बताउँछन् । “दलका १३ र स्वतन्त्र १२ गरी २५ जना उमेद्वार हुनुहुन्छ, अहिले आम सर्वसाधारण मतदाताले धारणा नै बनाएका देखिदैन” सहसचिब पदको सरकारी सेवाबाट निवृत भङ्गाहा–५ सीतापुरका बासिन्दा रामबहादुर भुजेल भन्नुहुन्छ, “चुनावी मुद्दा भने बेथिति अन्त्यको हुनपर्छ ।”
यस क्षेत्रमा यसपालि एक लाख पाँच हजार ६४६ मतदाता छन् । यस क्षेत्रमा ५९ मतदानस्थलमा १३० मतदानकेन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी बताउनुहुन्छ । निर्वाचन स्वच्छ र भयरहित सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ ।

