जनकपुरधाम : मिथिलाकै ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरधाममा आज देखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव मध्यमा परिक्रमालाई ‘मिथिलाको महाकुम्भ’ पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवतसुरु हुने परिक्रमामा लाखौं भक्तजनहरू सहभागी हुने गर्दछन्। परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइपुग्ने गरेको छ । मिथिलाञ्चलमा परिक्रमा समापनको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।

आज धनुषाको मिथिला बिहारी नगरपालिका स्थित ठेराकचुरी गाउँमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आई पुग्दछ । यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी पुगेर विधिवत रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।

परिक्रमाको दोस्रो दिन रामसीताको डोला सहित साधुसन्त र भक्तजनहरू भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन्। त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गर्ने गरिन्छ । तेस्रो दिन भारतकै गिरिजास्थान र चौंथो दिन महोत्तरीको मटिहानी पुग्छन्। मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । मटिहानीबाट डोला जलेश्वर पुग्दछ । जलेश्वरनाथको दर्शनपछि पञ्चमी तिथिमा परिक्रमा मडै गाउँ पुग्ने गर्दछन्। मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

त्यहाँबाट ध्रॅवकुण्ड हुँदै डोला लक्ष्मीनियाँ गाउँपालिका स्थित कञ्चनवन पुग्छ । कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा सरिक साधुसन्त तथा भक्तजनहरूले होली खेल्ने गर्छन्। त्यसपछि डोला पर्वता तर्फ मोडिन्छ । पर्वताबाट धनुषाधाम पुग्ने गरेका डोलाहरूले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन्।

दशमी तिथिमा सतोषर भन्ने स्थानमा डोलेहरू बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी विश्राम गर्छन्। फागुन पूर्णिमाको दिन डोला जनकपुरधाम आईपुगी अन्तरगृह परिक्रमा गरी समापन हुने गर्दछ । परिक्रमामा नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो पैदल यात्रा हुने गरेको छ ।

जसमा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्दछन्। पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःखकष्टको निवारण भई पाप नष्ट हुने जनविश्वासका रहेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवका अनुसार परिक्रमा नेपाल र भारत दुई देश बिचको सांस्कृति सम्बन्धको ठूलो पुल हो। परिक्रमाले दुई देशको सभ्यता र संस्कारलाई समृद्ध बनाउने काम गरेको छ । परिक्रमाका क्रममा पुगिने सबै धार्मिक स्थलहरू रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानको रुपमा रहेका छन्।

परिक्रमा अवधिभरी सहभागी यात्रुहरूले चोखो खानेकुरा खाने, लहसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाई धुवाई गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियमहरू बनाइएको हुन्छ । परिक्रमाले नेपाल भारतको सम्बन्धलाई परापूर्वकालदेखि प्रगाढ बनाएको महन्थ नवलकिशोर दासको भनाई छ ।

२०७७ फाल्गुन २९, शनिबार ०९:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय