महोत्तरी । मुलुककै जेठो विद्यालय मानिने महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मा सुकुम्बासी परिवारका विद्यार्थीले निःशुल्क संस्कृत शिक्षाको अवसर पाउने भएका छन् । जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन गुरुकूलले सुकुम्बासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ ।
“हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुम्बासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आबास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौं” गुरुकूलका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भन्नुहुन्छ, “यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म याे सुविधा पाउने छन् ।” भर्ना यही आउने जेठ १५ सम्म भइसक्नु पर्ने गुरुकूल प्रशासनले स्पष्ट पारेको छ ।
सुकुम्बासी बस्तीसम्म संस्कृत शिक्षाको पहुँच बढाउन र अभावमा रहेका परिवारलाई शिक्षाको अवसर प्रदान गर्न यो व्यवस्था गरिएको पौडेलको भनाइ छ । यो अवसरमा मुलुुकभरिका ७७ वटै जिल्लाका विद्यार्थी सरिक हुनसक्ने उहाँले स्पष्ट पार्नुभयो । यसका लागि गुरुकूल प्रशासनसँग सम्पर्क समन्वय गर्न पौडेलको अपिल छ । “यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्ममिति स्पष्ट खुल्नेगरी सम्बद्ध स्थानीयतहको वडा कार्यालयले सुकुम्बासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ” पौडेलले भन्नुभयो ।
अध्ययनका लागि जुनसुकै जाति सम्प्रदाय वा धर्मका भएपनि गुरुकूलले भर्ना लिने गरेको छ । अहिले शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क अवसर भने सुकुम्बासी परिवारका विद्यार्थीलाई लक्षित गरी ३० जनालाई दिन लागिएको हो । विगतमा ब्राह्मण जाति समुदायका लागिमात्र संस्कृत शिक्षा दिदै आएपनि पछिल्ला दुई दशकयता भने गुरुकूलले ‘सबैका लागि संस्कृत शिक्षा’को अवधारणाअनुसार सबै जातजाति र धर्म/सम्प्रदायका लागि पढ्ने अवसर खोलेको छ । आबास र भोजनसहितको यो अवसर अहिले छात्रका लागिमात्र भएको गुरुकूलले स्पष्ट पारेको छ ।
विक्रम सम्वत् १७७५ मा स्थापित यो गुरुकूल नेपाल भारत सीमाक्षेत्र (दशगजा) बाट १०० मिटरमात्र भित्र छ । सीमा नजिकहुँदा यहाँ भारतीय छात्रछात्रा पनि संस्कृत अध्ययनका लागि आउने गरेका छन् । कक्षा आठदेखि १२ सम्म अध्ययन/अध्यापन हुने गुरुकूलमा अहिले मुलुकका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
नेपालका जिल्लाहरुमा पाहाडी जिल्ला दैलेखको दुल्लुका विद्यार्थी पछिल्ला दुई दशकयता उल्लेख्य सङ्ख्यामा छन् । गुरुकूलमा संस्कृततर्फ साहित्य, व्याकरण, न्याय, कर्मकाण्ड र ज्योतिषमध्ये दुई ऐच्छिक र भाषा अनिवार्य छ । यस्तै संस्कृतका अतिरिक्त साधारण विद्यालयका अनिवार्य विषय यहाँ पनि पढाइन्छन् । टाढाका गरिब विद्यार्थीका लागि गुठी संस्थानले भोजन व्यवस्थापन गर्दै आएको छ ।
बालगुरु षडाननले शिक्षा लिनुभएको यो गुरुकूललाई अहिले संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन पर्ने माग बढेको छ । मटिहानी नगरपालिकाले गुरुकूललाई संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन नेपाल सरकारको ध्यानाकर्षण गराइँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।


