
काठमाडौं : नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित विजयी हुनुभएको छ।
निर्वाचन समितिका अनुसार विपुल पोख्रेल ६ हजार नौ सय ४२ मतसहित विजयी हुनुभएको हो भने प्रतिस्पर्धी निर्मला शर्माले तीन हजार नौ सय १५ मत ल्याउनुभयो।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट ४७ सय ४२ मतसहित विजयी हुँदा अर्का प्रत्यासी माधव नेपालको ३७ सय ८१ मत मात्रै आएको छ । यस्तै महासचिवमा ६२ सय ४२ मतसहित रोशन पुरी विजयी हुनुभएको छ ।
उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोशन पुरी, सचिवमा गोविन्द चौलागाईँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् । यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति सदस्यमा लेखनाथ न्यौपाने विजयी हुनुभएको छ।
महासङ्घको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्सतर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेदवारले जितेका छन्। पत्रकार महासङ्घको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठनसहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो।
एमाले निकट प्रेस चौतारीले जसपा, राप्रपालगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो ।