काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भागमा वर्षा भइरहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। जसले गर्दा आज देशका अधिकांश भागमा वर्षा हुने तथा चट्याङ पर्ने र हावाहुरी चल्ने सम्भावना भएकाले सतर्क रहन अनुरोध गरेको छ।

महाशाखाका अनुसार, प्रदेश २, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने भएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका केही स्थानमा तुवाँलोको पनि लाग्ने महाशाखाको प्रक्षेपण छ।

आज राति पनि वर्षाको सम्भावना रहेको छ। देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी ३ दिनमा पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।


२०७८ बैशाख ९, बिहीबार ०८:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय