कास्की : नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आबद्ध पत्रकारहरुको कोरोना बीमा गरिएको छ ।
महासङ्घ र सिद्धार्थ इन्सुरेन्स लिमिटेड पोखरा शाखाबीच पत्रकारहरुको कोरोना भाइरस रोग बीमालेख जारी गर्ने सम्झौतामा आज महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र इन्सुरेन्सका शाखाप्रमुख गोविन्द्रप्रसाद देवकोटाले हस्ताक्षर गर्नुभएको हो । महासङ्घले शाखामा आबद्ध सबै पत्रकारहरुको कोरोना बीमा गर्ने योजनाअनुसार आज १०६ जनाबाट शुरुआत गरिएको जनाएको छ ।
कोरोना बीमाअन्तर्गत बीमितले कोभिड–१९ को पोजिटिभ आएको पिसिआर रिपोर्टसहित दाबी गरेको खण्डमा बीमकले रु एक लाख भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । प्रतिव्यक्ति रु ६०० मा गरिएको बीमाका लागि तमुँधि युकेले सहयोग गरेको बताइन्छ ।