काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निरंकुश ओलीप्रवृत्ति परास्त भइनसकेको बताएका छन्। सोमबार बेलुका ट्वीट गर्दै उनले संसदले ओली सरकारलाई विधिवत् बिदाइ गरेको धारणा राखेका छन्। लोकतान्त्रिक मूल्य मान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप नयाँ सरकार गठन गर्ने आह्वान गर्नुपर्ने दाबी गरेका छन्।
विश्‍वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्‍वास प्राप्त गर्न असफल भएसँगै उनले यस्तो दाबी गरेका हुन्।

‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’, भट्टराईले ट्वीटमा लेखेका छन्, ‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा ७६(२)अनुरूप २ वा २ भन्दा बढी दलको नयाँ सरकार गठन गर्ने आह्वान गरून्। दलहरूले स्वीकारून्।’

सोमबारको मतदानमा जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको विश्वासको मतको विपक्षमा मतदान गरे भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरु तटस्थ बसेका छन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट गरे। प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिँदै उनले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता भएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे। सबै मुद्धा फिर्ता नभएर साथीहरू जेलमा भएकाले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाका सांसदहरुले विश्वासको मत प्रस्तावको विपक्षमा मत जाहेर गर्ने बताए। नागरिकता विधेयक, मधेस आन्दोलनको क्रममा मधेसी नेताहरुमाथि झुटा मुद्दा र सरकारबाट दमन जस्ता विभिन्न मुद्दाका कारण प्रधानमन्त्रीको भूमिका र गतिविधिप्रति आफूहरुलाई विश्वास नरहेको उनको भनाइ थियो। जसपाका १५ सांसदले ओलीको विपक्षमा मत दिए भने १५ जना तटस्थ बसे।

२०७८ बैशाख २७, सोमबार २०:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय