काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को एक खेमाले उपेन्द्र यादव पक्षलाई नबोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ । अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबारै भक्तपुरस्थित एक होटलमा महतोलाई दलका नेता छानेको एक नेताले बताए । ती नेताले होटलको उक्त भेलामा १८ सांसद सहभागी भएको जानकारी दिए ।

यादव पक्षले भने महतोलाई नेता चयन गरेको बारेमा अनभिज्ञता जनाएको छ । संसदीय दलको विधान हुने र त्यो विधान केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको यादव पक्षको भनाइ छ ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने पक्षमा थिए । ठाकुर र महतो भने प्रधानमन्त्री ओलीका पक्षमा उभिएका हुन् । उनीहरूकै सहयोगका कारण ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको ठाकुर र महतो पक्षले साथ नदिएपछि बिहीबार कांग्रेस र माओवादी केन्द्र संयुक्त सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका थिए । त्यसपछि सबैभन्दा ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आह्वान गरेका थिए ।

डा. भट्टराई र यादव पक्षका सांसदले हालै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा विपक्षमा मत दिएका थिए । ठाकुर र महतो पक्षका सांसद भने तटस्थ बसेका थिए ।

२०७८ जेष्ठ १, शनिबार ११:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय