महोत्तरी : महोत्तरीका वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन भएको छ । जिल्लाको भङ्गाहा नगरपालिका-६ हतिसर्वाका स्थायी बासिन्दा ६३ वर्षीय घिमिरेको आज बुधबार भक्तपुरमा निधन भएको हो । घिमिरे लामो समयदेखि क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो ।

विद्यार्थी कालदेखि नै पञ्चायत विरोधी आन्दोलनमा होमिनु भएका घिमिरेले २०३५ देख नै पत्रकारिता शुरु गर्नु भएको उहाँका भाइ पत्रकार अनिल घिमिरे सम्झनुहुन्छ । काठमाडौंबाट प्रकाशित हुने मातभूमि र समीक्षा साप्ताहिकबाट पत्रकारिता शुरु गर्नु भएका घिमिरेले २०३८ सालबाट आफ्नै प्रकाशन/ सम्पादनमा हिमज्योति साप्ताहिक प्रकाशनमा ल्याउनुभयो । हिमज्योति साप्ताहिक अहिले पनि प्रकाशित भइरहेको छ ।

पञ्चायत कालमा तत्कालीन विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपासँग नजिकिएर प्रजातान्त्रिक आन्दोलनमा सरिक हुनु भएका घिमिरेलाई समीक्षा र मातृभूमि साप्ताहिकमा प्रकाशित समाचारकै कारण पञ्चायती सरकारले पक्राउ गरी थुनामा राखेको थियो । त्यसबेला घिमिरेविरुद्ध राजकाज अपराध मुद्दा चलाइएको महोत्तरीका पत्रकार तथा स्व. घिमिरेका सहकर्मी गोपाल बराल बताउनुहुन्छ ।

विक्रम सम्वत् २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि थुनामा पर्नु भएका घिमिरेलाई आन्दोलनको सफलतापश्चात प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानलाई कदर गर्दै २०४७ सालमा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले सम्मानित गर्नुभएको थियो । निरन्तर ३० वर्ष भन्दाबढी सकृय पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पनि घिमिरेलाई सम्मान गरिसकेको छ ।

घिमिरेको निधनमा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल र बर्दिबास नगर पत्रकार सञ्जाल महोत्तरीका अध्यक्ष विक्रमप्रसाद रौनियारले शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

स्व. घिमिरेका पत्नी, दुई छोरी र नातिनातिना छन् ।

२०७८ जेष्ठ ५, बुधबार १९:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय