वीरगञ्ज : कोरोना संक्रमण फैलिँदै जाँदा हाल धेरैले समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको छ भने कतिपयलाई अस्पताल पुग्न पनि एम्बुलेन्स पाउन मुस्किल परिरहेको छ। तर,महामारीको यही समयमा वीरगञ्ज महानगरपालिकामा रहेको एउटा एम्बुलेन्स विगत तीन वर्षदेखि प्रहरी चौकीमा थन्किएकाे छ।

महानगरको वडा नम्बर ३१ बेल्वा टोलको स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स विगत तीन वर्षदेखि प्रयोगबिहीन अवस्थामा भएर प्रहरी चौकी मिलन चोकको परिसरमा थन्केकाे हाे। ना १ झ १५९४ नम्बरको सुविधा सम्पन्न एम्बुलेन्स प्रयोगविहीन भएर प्रहरी चौकीमा थन्किएकाे हाे।

अक्सिजन सिलिन्डरसहित अन्य सबै सुविधा अहिले पनि रहेकाे उक्त एम्बुलेन्सकाे एउटा टायर मात्रै पञ्चर भएकाे छ। वडा नम्बर ३१ बेल्वा टोलका स्थानीयहरुले चन्दा उठाएर चार वर्ष अघि उक्त एम्बुलेन्स किनेका थिए। तर अहिले उक्त एम्बुलेन्स प्रयाेगबिहीन अवस्थामा रहेकाे स्थानीय बालेश्वर गौरोले जानकारी दिए।

‘हामीहरुले चन्दा उठायौँ, केही पैसा गाउँलेहरुले पनि दिए अनि बल्ल यो एम्बुलेन्स खरिद गरियाे’,उनले भने,‘गाउँका मानिसहरु बिरामी हुँदा अस्पताल पुर्‍याउन सजिलो होस् भनेर किनेका थियौँ।’

एम्बुलेन्स खरिद भएपछि राख्ने ठाउँ नभएकाले प्रहरी चौकीकै परिसरमा राख्ने गरिएको र पछि २०७४ सालमा स्थानीय निर्वाचन सम्पन्न भएपछि वडा कार्यालयले उक्त एम्बुलेन्स वडा मातहत दिन पटक-पटक दबाब दिएपछि वडा कार्यालयकै जिम्मामा दिएको एम्बुलेन्स सञ्चालक समितिका पूर्व संयोजक समेत रहेका गौरोले बताए।

वडा कार्यालयको जिम्मामा दिएपछि गएको ५/६ महिना मात्रै एम्बुलेन्स सञ्चालन भएको र पछि प्रहरी चौकीमा थन्किएकाे उनले बताए। धेरै दु:ख गरेर सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरि सञ्चालन गरेको भए पनि जनप्रतिनिधिहरु आएपछि उक्त एम्बुलेन्स थन्काइएकाे उनले बताए।

अहिले पनि डेढ दुई लाख जति खर्च गरे एम्बुलेन्स सहजै चल्ने अवस्थामा आउने उनको भनाइ छ। यता एम्बुलेन्स सञ्चालन गर्नको लागि वडाबाट एक लाख पचास हजार बजेट नै छुट्याएकाे वडा नम्बर ३१ का वडाध्यक्ष चुमन दास चौधरीले बताए।

उनले पैसा छुट्याउँदा पनि कसैले एम्बुलेन्स सञ्चालन गर्न जिम्मा नै नलिने गरेकाे बताए। ‘मैलै त वडाको बजेटबाट डेढ लाख बजेट नै छुट्याएकाे छु’, उनले भने, ‘तर यहाँ कसैले जिम्मा नै लिँदैनन्।

एम्बुलेन्सलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सम्बन्धित वडाध्यक्षलाई निर्देशन दिइएकाे महानगरकाका स्वास्थ्य शाखाका प्रमुख अरुण महतोले बताए । यता वीरगञ्ज महानगरका मेयर विजय सरावगीले एम्बुलेन्स सञ्चालनकाे काम महानगरकाे नभएकाेले अस्पतालकाे जिम्मा दिइने बताए।

उनले भने, ‘एम्बुलेन्स त महानगरले सञ्चालन गर्दैन, हामीले अस्पताललाई नै दिने गरेका छौँ, त्याे एम्बुलेन्स किन थन्कियो यसबारेमा वडाध्यक्षसँग कुरा गर्छु।’ देशसन्चारबाट

२०७८ जेष्ठ १९, बुधबार १४:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय