महोत्तरी : रामायणकालीन ऐतिहासिक नगर महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागरमा लक्ष्मी महाआरति प्रारम्भ भएको छ ।

मङ्गलबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ दास शास्त्री, जनकपुरधामको गङ्गासागरमा गङ्गा महाआरतिका प्रारम्भकर्ता प्रदेशसभा-२ सदस्य रामअशिष यादव र मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले लक्ष्मी महाआरति संयुक्त रुपमा प्रारम्भ गर्नु भएको हो ।

लक्ष्मीसागर अघि त्रेतायुगमा मिथिलापुत्री जानकी र मर्यादा पुरुष श्रीरामको विवाहका लागि वेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ ।

सीता (जानकी) र श्रीरामको विवाहका लागि वेदी बनाउन माटो खनिएको हुँदा शुरुमा मृतखनी भनिएको यो ठाउँको नाउँ पछि अपभ्रंश भएर मटिहानी भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ । भारतसँग सीमा जोडिएको मटिहानीमा मुलुकका सबै मठहरुको नेतृत्वकर्ता लक्ष्मीनारायण मठ, जेठो विद्यालय मानिएको राजकीय संस्कृत माध्यमिक विद्यालय, महाज्ञानी याज्ञवल्क्य र मठको संयुक्त नाउँमा रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) र पुरातात्विक महत्वका मठ र मन्दिर रहेका छन् ।

मटिहानीस्थित लक्ष्मीसागरमा महाआरतिको प्रारम्भले यसको कीर्ति फैलाउन मद्दत पुग्ने विश्वास गरिएको छ । अब प्रत्येक बिहीबार साँझ लक्ष्मी महाआरति गरिने उद्घोष गरिएको लक्ष्मीसागरमा गत आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले चारैतिर आकर्षक फलामे डण्डीले बार लगाएर मनोरम घाट बनाएको छ । महाआरतिको प्रारम्भले यहाँका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुको नियमित सरसफाई, संरक्षण यिनको सौन्दर्यवृद्धिमा सम्वद्ध पक्षलाई घचघच्याई रहने महाआरति प्रारम्भ अभियानका सहभागीले आश सँगालेका छन् ।

मटिहानी फागुन शुक्लपक्षमा आयोजना हुने मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तेश्रो दिनको रात्री विश्रामस्थल पनि हो । यात्राका यात्री मटिहानीबाट नै महोत्तरी प्रवेश गरेर पाँच रात जिल्लाका बिभिन्न ठाउँमा बिताउँछन् । नगरका शैक्षिक, साँस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण र प्रवद्र्धनलाई नगर नेतृत्वले उच्च प्राथकिता दिएको नगरप्रमुख मण्डलले बताउनु भएको छ ।

“हामीले नगरका सम्पदाहरुको संरक्षण र यिनको सौन्दर्यवृद्धिका लागि संस्थागत पहलकदमी लिएका छौं” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “धार्मिक नगर जनकपुरधाम र जलेश्वर नगरतर्फबाट मटिहानी प्रवेशको ठाउँमा चित्ताकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् , बजारक्षेत्र र नगर बस्तीमा करिब १५ किलोमीटर पक्की सडक निर्माण भइसकेका छन् ।” मटिहानीको धार्मिक महत्व उजागर गर्न थप प्रयत्न जारी राखिएको मण्डलको भनाइ छ ।

यसअघि हिजो मङ्गलबार नै मिथिला माध्यमिकी परिक्रमाको रात्री विश्रामस्थलमा खानेपानी, शौचालय, बिजुली र चारैतिर पर्खालसहितको दुई कोठे पक्की भवनको रामजानकी धर्मशाला उद्घाटन गरिएको थियो ।

तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ३८ लाखको लागतमा धर्मशाला निर्माण भएको नगर कार्यपालिकाको कार्यालयका इञ्जिनियर विमलेश साहले जानकारी दिनुभयो ।

२०७८ श्रावण ६, बुधबार ०८:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय