
काठमाडौं : सुदूरपश्चिम प्रदेशका जिल्लामा आएको बाढी र पहिरोमा परेकालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिँदैछ।
नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।
वर्षातका कारण सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेल्धुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको उनले बताइन्।
गृहमन्त्री बालकृष्ण खाणले प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले अहिलेसम्म भइरहेको उद्धार कार्यका लागि धन्यवाद दिँदै नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी तप्परताका साथ काम गर्न निर्देशन दिए। File Photo