बर्दिबास : बर्दिबास नगरपालिका-४ माइस्थानको चुरे काछस्थित राष्ट्रिय आधारभूत विद्यालयका छात्रालाई अब आशौच (दिसापिसाव) गर्न राहत मिलेको छ ।

विद्यालय परिसरमा आठ कोठे पक्की शौचालय बनेर महिलाका लागि छुट्टै कक्ष प्रयोगमा ल्याइएपछि महिला शिक्षक र छात्राहरुलाई राहत मिलेको हो । रोटरी क्लव बर्दिबासले १६ लाख लागतमा निर्माण गरेको आठ कोठे पक्की शौचालय भवन आज आइतबार विद्यालयलाई हस्तान्तरण गरेसँगै प्रयोगमा आएको छ ।

नगरपालिका भूगोल क्षेत्रमा समेटिएपनि ग्रामीण परिवेशको चुरे काछस्थित वरडाँडा बस्तीमा यो विद्यालय अवस्थित छ । विद्यालयमा आफ्नै परिसरभित्र शौचालय नहुँदा यसकै अप्ठयाराले छात्रा कक्षा नै छाडेर घर जाने गरेका विद्यालयका प्रधानाध्यापक (प्रअ)कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

“छात्रहरु त दिसापिसाव लाग्दा नजिकको वन झाडीमा पसेर आशौच गर्थे’’ प्रअ आचार्यले भन्नुभयो, “छात्रालालाई भने निकै अप्ठयारो थियो, अब रोटरीले छात्रछात्रा दुबैका लागि छुट्टाछुट्टै पक्की शौचालय बनाइ दियो , सहज भएको छ । आदिवासी गरिब तामाङ जातिको बसोबास रहेको बस्तीबीचको आफ्नो विद्यालयका १५० कूल विद्यार्थीमध्ये ८० भन्दा बढी छात्रा नै रहेका आचार्यको भनाइ छ ।

बजारक्षेत्रबाट निकै टाढा रहेको यो विद्यालयमा शौचालय नहुँदा छात्राहरु पढाइको घण्टी नै छाडेर घर जाने गरेका बुझिएपछि शौचालय निर्माणमा आफ्नो संस्थाले पहलकदमी लिएको रोटरी क्लव बर्दिबासले जनाएको छ । “हामीले शौचालय बनाउने निधो गर्‍यौं, रोटरी क्लव धुलीखेलले आर्थिक स्रोत जुटाइदियो’’ रोटरी क्लव बर्दिबासका अध्यक्ष (प्रेसिडेन्ट) विष्णु खड्काले भन्नुभयो, “रोटरीको सानो प्रयत्नलाई वरडाँडाबासीले सरनी -प्रशंसा) गर्नुभयो, आनन्द लागेको छ ।’’

रोटरी क्लव धुलीखेलले आज नै बर्दिबास शाखाको समन्वयमा बर्दिबास-११ खयरमारास्थित स्वास्थ्यचौकीलाई कोविड-१९ विरुद्धको सचेतनालाई अझै बढाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीमा मास्क एक हजार ५०० थान, सेनिटाइजर ४० लिटर, ओक्सीमिटर पाँच थान , केएन-९५ मास्क १०० थान र ग्लव्स (सुरक्षा पञ्जा) ४०० थान रहेका रोटरी क्लव बर्दिबासले जनाएको छ ।

२०७८ कार्तिक १४, आईतवार १५:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय