बर्दिबास : नेकपा (एमाले) का केन्द्रीय सदस्य, प्रदेश-२ का सहइञ्चार्ज तथा राष्ट्रियसभामा एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलले आधुनिक नेपालका सबै प्रजातान्त्रिक आन्दोलनको वैचारिक नेतृत्व कम्युनिष्ट पार्टीले गरेको बताउनु भएको छ । सोमबार साँझ महोत्तरीको बर्दिबास-५ टुटेश्वरधाममा आफ्नै पार्टीले आयोजना गरेको पार्टी प्रवेश तथा विविध साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथीय सम्वोधन गर्दै नेता प्याकुरेलले पछिल्लो कालमा २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको र २०६२/०६३ को लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको आन्दोलनमा वैचारिक नेतृत्व कम्युनिष्टहरुकै रहेको दाबी गर्नु भएको हो । यसको अगुवाई एमालेले गरेको उहाँले दाबी गर्नुभयो ।

“धेरै अगाडि जान परेन, पछिल्ला दुई ऐतिहासिक आन्दोलनले नै मुलुकको राजनैतिक परिवर्तनको वैचारिक नेतृत्व कम्युनिष्टले गरेका स्पष्ट छ” नेता प्याकुरेलले भन्नुभयो, “कम्युनिष्ट भनेपछि तर्कने काँग्रेसलाई २०४६ सालमा तत्कालीन नेकपा माले नेतृत्वले संयुक्त जनआन्दोलनमा उतारेको घामजस्तै छर्लङ्ग छ ।” कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्दै प्रजातन्त्रका लागिको सङ्घर्षमा काँग्रेसलगायतका प्रजातान्त्रिक शक्तिलाई गोलबन्द गर्नसक्नु नै २०४६ सालको आन्दोलनमा मदन भण्डारीको वैचारिक आन्दोलनको सफलता भएको प्याकुरेल बताउनुहुन्छ ।

अघि २००७ सालमा राणाशाहीविरुद्धको आन्दोलनमा पनि कम्युनिष्ट पार्टी राणसँग सम्झौताको पक्षमा नरहेका स्पष्ट पार्दै प्याकुरेलले काँग्रेसले राणासँग सम्झौता गरेर सत्ता स्वाद चाख्न हतार गरेको हुँदा नै राजाले आमनिर्वाचन गराउन पनि दलहरुलाई मुसा खेलाएझैं झण्डै एकदशक अलमल्याएका उल्लेख गर्नुभयो । काँग्रेसले प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत गर्नभन्दा सत्तामा जान हतार गर्दा २०१५ सालको सम्विधान आप्mनो अनुकूल बनाएकै हुँदा २०१७ सालको ‘कू’ गर्न राजालाई सजिलो भएको विगत चर्चा प्याकुरेलले गर्नुभयो ।

खासमा २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि जननेता मदन भण्डारी नेतृत्वको नेकपा (माले) ले कम्युनिष्ट घटकहरुलाई एकीकृत गर्दै अघि बढ्नसँगै एमाले गठनपछि आयोजित पाँचौ महाधिवेशनले पारित गरेको जनताको बहुदलीय जनवादी कार्यक्रमले त्यसयताका सबै आन्दोलनलाई वैचारिक नेतृत्व दिदै आएको प्याकुरेलको दाबी छ । नेता प्याकुरेलले अहिले ‘परमादेश’ ले एमालेको केपी ओली नेतृत्वको सरकार हटाउन सफल भयौं भनेर झ्याली पिट्नेहरु आउने निर्वाचनपछि बत्ती बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष टेकबहादुर बलम्पाकीले अबको मुलुकको समृद्धि अभियानको नेतृत्व केपी ओली नेतृत्वमा नेकपा एमालेले मात्र गर्नसक्ने बताउनुभयो ।

कार्यक्रममा बर्दिबास-५ का कम्युनिष्ट आन्दोलनका पाँच जना महिलासहित जेष्ठ नागरिक (८० वर्ष उमेर कटेका) नौ जनालाई दोसल्ला ओढाएर नेता प्याकुरेल र बलम्पाकीले सम्मान गर्नुभयो । समारोहमा टुटेश्वरधाम क्षेत्रमा सामाजिक, राजनीतिक नेतृत्व दिदै आउनु भएका गणेश आचार्यसहित ७५ जनालाई दुबै नेताले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराउनु भयो ।

एमाले बर्दिबास-५ वडा कमिटीका अध्यक्ष रमेशकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापा र वडाअध्यक्ष दलबहादुर थापा मगरले जनताका आवश्यकताका कुरा परिपूर्तिका लागि प्रयत्नशील रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा जनसाँस्कृतिक परिवार बर्दिबास-३ कालापानीका कलाकारले देशभक्ती भावका साँस्कृतिक प्रस्तुति गरेका थिए ।

२०७८ कार्तिक १६, मंगलवार १२:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय