महोत्तरी : दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण कार्य थालिएको हो । दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले ५६ लाखको लागत अनुमानमा सुन्दर वाटिका निर्माणको काम थालेको छ ।

वाटिका निर्माणका लागि एक करोड एक लाख २९ हजार १८१ को लागत अनुमान भएपनि खुला बोलकवोलमा संजिव निर्माण सेवाले ५५ लाख ३३ हजार ८५१ मा निर्माण जिम्मेवारी पाएको छ । गत जेठमै कार्यादेश पाएको यो योजनाको निर्माण कार्यभने भर्खर दीपावली पर्वको मुखमा गरिएको हो । ‘चोभाचा पोखरी सौन्दर्यीकरण कार्य, मटिहानी-७’ नाउँ दिइएको यो योजना प्रारम्भमा ठेक्का बोलकवोल हुँदा २०७८ माघभित्रै निर्माण सम्पन्न हुने भनिए पनि काम भर्खर थालिएको हुँदा दुई महिना पर काम सकिने निर्माण कम्पनी सञ्जिव निर्माण सेवा, जनकपुर-१४ ले जनाएको छ ।

यसअघि ५१ फिट अग्लो घण्टाघर, जलेश्वर-मटिहानी सडक र मटिहानी-जनकपुर सडक (रामजानकीपथ) मा नगर प्रवेशद्वार, लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा, मटिहानीबजार समिप निर्मित अत्याधुनिक अतिथिगृह र लक्ष्मीनारायण मठ अगाडि भव्य दुर्गा मन्दिर निर्माण सम्पन्न भएसँगै अब वाटिका निर्माणको काम थालिएको मटिहानी नगरपालिकाले जनाएको छ । नगरमा सुन्दर वाटिका निर्माणले धार्मिक नगरीको सौन्दर्य अझ खिलखिलाउने (खुल्ने, उज्यालिने) नगरबासीले आश सँगालेका छन् । दीपावली पर्वले जताततै जगमगाएका बेला आफ्नो ठाउँमा सुन्दर वाटिका निर्माणको थालनीले धार्मिक नगरीमा थप उत्साह देखिन्छ ।

“हाम्रो नगरको धार्मिक महत्ता उजागर गर्न प्रयत्न भएका छन् , यी संरचनाले ठाउँको ओज बढाउने छ” मटिहानीका बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ, “वाटिका निर्माणले नगरको सौन्दर्य अझ बढ्ने छ ।”
नगरपालिकाले निर्माण सम्पन्न गरेका र निर्माणाधिन रहेका यी संरचनालाई अनुत्पादक काममा लगानी गरिएको टिप्पणी गर्ने पनि भेटिएका छन् । तर नगरप्रमुख हरिप्रसाद मण्डलभने नगरको विगतदेखिको धार्मिक, साँस्कृतिक र पौराणिक परिचय उजागर गर्न यी काम महत्वपूणर् रहेका बताउनुहुन्छ ।

Batika Matihani

“हाम्रो नगरको परिचयको कुरा उप्कनासाथ रामायणकालीन कथा निस्कन्छ, हाम्रो परिचय त्रेता युगसँग जोडिन्छ , त्यसैले ती पौराणिक परिचय अझ उजागर गर्नु हाम्रो कर्तव्य र दायित्व नै हो” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “त्रेता युगमा राम सीताको विवाहसँग जोडिएर हाम्रो नगरका पौराणिक कथा छन् , तिनमा गौरववोध गर्ने होभने त्यो परिचय उजागर गर्नु पर्ने हुन्छ ।” पछिल्लो स्थानीयतह निर्वाचनयता धार्मिक नगरी मटिहानीको प्राचीन परिचय अझ चहकिलो बनाउन जे जति सम्भव छ, त्यो गरिएको मण्डल बताउनुहुन्छ । यी कामबाहेक आम जनताको जनजिविकासँग जोडिएका कृषिसम्वद्ध थुप्रै काम गरिएको पनि मण्डलको जिकिर छ ।

मटिहानीस्थित करिब ५५० वर्ष पुरानो इतिहास बोकेको राजगुठीअन्तर्गतको लक्ष्मीनारायण मठ, ३०३ वर्षअघि स्थापना भएको राजकीय संस्कृत पाठशाला (अहिले राजकीय संस्कृत माध्यमिक विद्यालय) र विदेहराज जनकको प्राज्ञ (विद्वान) सभाका मनिषि महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित/ सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) को स्थापनाका लागि ठाउँ छनौट नै रामायणकालीन जनश्रुति आधार भएको यहाँका विद्वानहरुको मत छ ।

“मटिहानीको पहिलो महत्व भनेकै राम सीताको विवाहमा वेदि (वैवाहिक समारोहका लागि यज्ञस्थल) बनाउन माटो लगिएको भन्ने जनश्रुति हो” याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका नेपाली भाषा साहित्य विषयका उपप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “त्यही आधार टेकेर ठाउँको महत्व चहकिलो बनाउन पूर्वजहरुले यहाँ मठ, विद्यालय र अन्य संरचना स्थापना गरेका हुन् ।” मटिहानीस्थित अहिलेको ल्क्ष्मीसागर (तलाउ) भएको ठाउँबाट नै राम सीताको विवाहमा वेदि बनाउन माटो लगिएको जनविश्वास छ ।

नेपाल/ भारत सीमासँगै जोडिएको मटिहानी नगर धार्मिक मेला, उत्सवका लागि प्रसिद्ध छ । साउन शुक्लपक्षको झुला महोत्सव, असोज शुक्लपक्षको दुर्गा महोत्सव र दशमीका दिनको रावणवध उत्सव, फागुन शुक्लपक्षको फागु महोत्सव र मिथिला माध्यमिकी (१५ दिने) परिक्रमाको चौथो दिनको विश्राममा हुने परिक्रमा उत्सव मुख्य हुन् । यी धार्मिक उत्सवमा मटिहानीका स्वस्पूmर्त जन/जन परिचालित हुने गरेका स्थानीय बासिन्दा उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ ।

आफ्नो ठाउँको परिचयसँग जोडिएको त्रेता युगकालीन जनश्रुतिप्रति मटिहानीबासी गर्व गर्छन् । “जसरी मिथिलाका धनुषाधाम (रामले शिवधनुमा प्रत्यञ्चा चढाउँदा धनु टुक्रिएर झरेको मानिने ठाउँ), जनकपुरस्थित रङ्गभूमि (राम सीताको स्वयम्वर गरिएको ठाउँ ) र जनकपुरस्थित रामजानकी विवाहमण्डप र रामसीताले वनविहारका क्रममा फागु खेलेका ठाउँ मानिने महोत्तरीकै कञ्चनवनको प्रसिद्धि छ, हाम्रो ठाउँ पनि वेदि बनाउन माटो खनिएको ठाउँको महत्वले गर्वित छ” मटिहानीकै बासिन्दा ८७ वर्षीय जिल्लाका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानि बिन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “मटिहानीबासीले यो पक्षलाई अझ उजागर गरी सुन्दर नगर बनाउनतिर लाग्नपर्छ ।”
नगरका पुराना ऐतिहासिक वैभवसँगै पछिल्ला तीन/चार वर्षयता निर्माण भएका धार्मिक र अन्य विकास संरचनाले आफ्नो नगरको महत्ता झनै बढाएको मटिहानीबासी बताउँछन् । नगरपालिकाले यसै वर्ष करिब तीन करोडको लागतमा अत्याधुनिक रङ्गशाला पनि निर्माण गरेको छ । निर्माण सम्पन्न भएर पनि प्रयोगमा नआइसकेको रङ्गशाला उद्घाटनका लागि राष्ट्रप्रमुख (राष्ट्रपति) को स्वागत गर्ने चाहना मटिहानीबासीले साँचेका नगरप्रमुख मण्डलको भनाइ छ ।

“हाम्रो प्रयत्न हेर्न राज्यका बिभिन्न अङ्गका व्यक्तित्वहरु आई दिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ” नगर प्रमुख मण्डलले भन्नुभयो, “रङ्गशाला उद्घाटनका लागि महामहिम राष्ट्रपति मटिहानीबासीले चाहेका छन् ।” त्यसका लागि निमन्त्रणा राष्ट्रपतिसमक्ष पुर्‍याउन सम्पर्क समन्वय थालिएको मण्डलको भनाइ छ ।

गतवर्षमात्र निर्माण सम्पन्न भएको ५१ फिट अग्लो घण्टाघर माथि अवलोकन गर्न नगरबासीमात्र नभएर टाढाटाढाबाट आउने पर्यटकको जमघट देखिन्छ । दशगजा (नेपाल भारत सीमा ) सँगै जोडिएको हुँदा मटिहानीबजार छिमेकी भारतीयहरुको पनि घुमफिरको गन्तव्य रहँदै आएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ । पछिल्लो कालमा निर्माण भएका विकास संरचनाहरुले मिथिला संस्कृति, परम्परा र स्थानीय पहिचानको पक्ष अझ चहकिला भएका आम मटिहानीबासीको ठम्याइ छ ।
ठ्याक्कै भारतीय सीमासँगैको मटिहानी बजार मिथिलाको माध्यमिकी परिक्रमासँग जोडिएको छ । फागुन शुक्लपक्षमा आयोजन हुने मिथिलाको महाकूम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्री विश्राम मटिहानीमै गर्ने परम्परा त्रेता युगमा मर्यादा पुरुष श्रीराम र मिथिला नन्दिनी आदर्श नारी सीताको ‘मिथिला विहार’सँग सम्वन्धित रहेको यहाँका मैथिल गर्वसाथ बताउँछन् ।
आफ्नो नगर संस्कृत शिक्षाको अध्ययनकेन्द्र, साधुसन्त परम्पराको प्रतीक र रामायणकालीन पौराणिक गाथासँग जोडिएको हुँदा यो परिचयलाई अझ मजवूत र दिर्घकालसम्म धार्मिक पर्यटनसँग गाँसी राख्न र यी सम्भावनाहरुको भरपूर उपयोग गर्न आवश्यक रहेको मटिहानीका वौद्धिक व्यक्तित्वहरुको धारणा छ ।

यो पनि पढ्नुहोस् !

मटिहानी : धार्मिक नगरीको परिचय चहकिलो बनाउँदै

पौैराणिक लक्ष्मीसागरमा महाआरति प्रारम्भ ( फोटो फिचर )

२०७८ कार्तिक १८, बिहीबार ०९:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय