मटिहानी (महोत्तरी) : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको गौरवपूर्ण विगतको सम्झना गर्दै त्यसको संरक्षणमा जुटन् अपिल गर्नु भएको छ । मिथिला संस्कृति, परम्परा र गौरवपूणर् गाथा जगेर्ना गर्नसकेमात्र पहिचान रहने भण्डारीको भनाइ छ । आज सोमबार महोत्तरीको मटिहानी नगरपालिका-७ मा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषि मुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग अपिल गर्नु भएको हो ।

मुुलुकको पहिचान , विकास र समृद्धिमा स्थानीयतहको पहलकदमी अपरिहार्य हुने राष्ट्रपति भण्डारीको भनाइ छ । “मुलुकको अहिलेको प्रदेश-२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी , मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ” राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामीले आफ्नो गौरवपूणर् विगतलाई सम्मान गर्दै यीसम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।” मिथिला भूमि प्राचीन ऋषिहरुको ज्ञान विवेचना र मीमांसाको थलोको रुपमा रहेको हाम्रो विगत अब हामीले अझ उन्नत बनाउन लाग्नुपर्ने भण्डारीको भनाइ छ । मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उहाँले चर्चा गर्नुभयो ।

मुलुकको विकास र पहिचानमा खेलकुद क्षेत्रको महत्वपूणर् स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ । यो यथार्थलाई हृदयङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रङ्गशाला निर्माण गरेर समयोचित काम गरेको भण्डारीले बताउनुभयो । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेलक्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।

rastpati17

मुलुकको तराईक्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीयतह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

नेपालको समग्र इतिहासमा मिथिलाक्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौति बनेको बताउनुभयो । यसलाई न्युनिकरण गर्न प्रदेश-२ सरकारले थालेको ‘छोरी विमा’ र ‘बेटी बचाउ-बेटी पढाउ’ कार्यक्रमको राष्ट्रपति भण्डारीले सराहना गर्नुभयो । “प्रदेश-२ सरकारले थालेको यो प्रयत्नले नारी शिक्षालाई बल दिनसँगै सक्षम नागरिक बनाउन मद्दत गर्नेछ” भण्डारीले भन्नुभयो । शिक्षाको अवस्था फेर्नसँगै वालविवाह, अनमेल विवाह, बहुविवाह, दहेज र तिलक प्रथा एबम् बोक्सीप्रथा जस्ता विसङ्गति र विकृति समाजमा अझै देखिनु दुःखको विषय रहेको राष्ट्रपतिले बताउनुभयो । “हाम्रा प्रयत्न यसको समूल अन्त्यका लागि केन्द्रित हुन आवश्यक छ” उहाँले भन्नुभयो ।

मटिहानीमा ३०० वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूणर् योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । शैक्षिक जागरणका अग्रदूत वालगुरु षडानन्दले समेत अध्ययन गर्नु भएको यो विद्यालयको समयोचित सुधार र विकासमा योगदान पुर्‍याउनु सबैको दायित्व भएको भण्डारीले बताउनुुभयो । मटिहानीका धार्मिक सम्पदाहरु लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर ,तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान , लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण , सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूणर् विगत सन्ततिले देख्न/ बुझ्न पाउने उहाँले उल्लेख गर्नुभयो ।

तराईको जीवन चुरे पर्वतसँग अभिन्न रुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षणबिना तराईको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “चुरे संरक्षण र तराईको समृद्धि एकअर्काका पूरक हुन् ।” यसका लागि चुरेको दोहनलाई निरुत्साहित गरी नदी प्रणालीलाई व्यवस्थित गरिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

समारोहस्थलमा राष्ट्रपति पुग्दा हजारौ जनसमुदायले करतलध्वनीले स्वागत गरेका थिए । समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेका थिए । सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गर्नुभयो । समारोहमै राष्ट्रपति भण्डारीले रङ्गशाला निर्माणमा अथक योगदान गर्ने मटिहानीका बासिन्दा विमलेश साह, विनोद मण्डल र नरेश महतोलाई सम्मान पत्र प्रदान गर्नुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न रङ्गशाला उद्घाटन समारोहमा प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत, महोत्तरी-३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहसहितका वक्ताले राष्ट्रपतिको आगमनले आपूmहरु र महोत्तरीबासीलाई उर्जा प्राप्त भएको बताउनुभयो ।

करिब तीन करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रङ्गशालाको उद्घाटन पश्चात राष्ट्रपति भण्डारीले मटिहानीस्थित ५०० वर्ष पुरानो लक्ष्मीनारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना गर्नुभयो । यसैगरी राष्ट्रपति भण्डारीले ३०३ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्नुभयो । विद्यालय अवलोकनमा पुग्नुभएका राष्ट्रपतिलाई छात्रहरुले रुद्राभिषेक पाठ गर्दै स्वस्तिवाचन गरेका थिए । सो अवसरमा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले विद्यालयको भौतिक र शैक्षिक अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभयो ।

मटिहानीको व्यस्त भ्रमण सकेर राष्ट्रपति भण्डारीले जलेश्वरस्थित श्रीजलेश्वरनाथ महादेवको दर्शन र पूजाअर्चना गर्नुभयो । त्यहाँ जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रसहितका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र उद्योगी व्यवसायीले राष्ट्रपतिलाई स्वागत अभिवादन गरेका थिए ।

२०७८ मंसिर ६, सोमबार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय