
महोत्तरी : महोत्तरी जिल्लाको माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुरमा कक्षा छमा अध्ययनरत छात्रा सोनी साह टिफिनपछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन् । विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुनेहुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो ।
“टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाँही घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ” सोनीले भनिन् । सोनीजस्तै उनका साथीहरु सञ्जना सिंह, निक्की सिंहलगायतका छात्रालाई पनि टिफिनपछिको घण्टीको पर्खाइ हुन्छ ।
“अरु विषयको घण्टी कहिलेकाँही छुट्दा साथीहरुबाट पनि सोधपुछबाट बुझिन्छ , कम्प्युटर छुट्दा चैं सकस !” निक्कीले भनिन् । विद्यालयमा कक्षा छदेखि आठसम्मका छात्रछात्रालाई सातामा पाँच दिन पालैपालो कम्प्युटर अभ्यास गराइन्छ । पाचौंदेखि सातौ घण्टीसम्म फरक फरक कक्षाको अभ्यास हुने र टिफिनपछिको पाँचौ घण्टीमा कक्षा छको पालो हुँदा यस कक्षाका विद्यार्थीलाई ‘घण्टी लाग्यो कि ?’ भनेर चनाखो रहनु परेको हो ।
विद्यालयमा २२ थान कम्प्युटर छन् । कक्षा छदेखि आठसम्मका विद्यार्थीको सङ्ख्या ३२१ छ । कक्षा कक्षाको पालोमा एउटा कम्प्युटरमा दुई विद्यार्थी राखेर अभ्यास गराइने गरिएको विषय शिक्षक सञ्जयकुमार ठाकुर बताउनुहुन्छ । “हामीले कक्षा र विद्यार्थीको पालो मिलाएर अभ्यास गराएका छौं” ठाकुरले भन्नुभयो, केही थान कम्प्युटर थप्न पर्ने छ ।” कम्प्युटर कक्षामा विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको ठाकुर बताउनुहुन्छ ।
कम्प्युटर कक्षा नयाँ विषय भएको र सघन अभ्यास गराइने हुँदा विद्यार्थीका लागि चाखलाग्दो बनेको छ । पालोमा पर्ने विद्यार्थीले हम्मेसी यो कक्षा नछाड्ने गरेका विषय शिक्षक ठाकुरको अनुभव छ । “विषय प्रवेश, अभ्यास र छलफलले विद्यार्थीलाई उत्प्रेरित गराएको लाग्छ, यो कक्षामा विद्यार्थी बोझिलो अनुभूति गरेका हुँदैनन्” ठाकुर भन्नुहुन्छ, “विद्यार्थीका लागि यो कक्षा मनोरञ्जन पनि बनेको छ ।”
विद्यालयमा यसै वर्ष (शैक्षिकसत्र २०७८) देखि कम्प्युटर कक्षा सञ्चालनमा आएको हो । कोभिड-१९ महाव्याधिले यस सत्रको लामो समय विद्यालय बन्द नै रहेको हुँदा भर्खरमात्र नियमित पठनपाठन हुन थालेको छ । यसअघि चार वर्ष पहिले जिल्ला शिक्षा विकास इकाईबाट प्राप्त २२ थान कम्प्युटर शिक्षकको अभावमा थन्किएर रहेका थिए । नगर कार्यपालिकाको कार्यालयले विषय शिक्षक दिएपछि बल्ल यसपालि कम्प्युटर कक्षा सञ्चालन गर्न सकिएको प्रधानाध्यापक श्रीराम यादवले बताउनुभयो । विद्यार्थी सङ्ख्याअनुसार कम्प्युटर अपुग रहेको हुँदा यसका लागि स्थानीयतहलाई झकझक्याई रहिएको प्रधानाध्यापक यादवको भनाइ छ ।
बालकक्षादेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एकहजार ३६८ विद्यार्थी छन् । जसमा ७५५ छात्राको सङ्ख्या छ । त्यसैगरी आधारभूततह (बालकक्षादेखि आठसम्म) मा ८७६ जम्मा विद्यार्थीमध्ये छात्रा ४६२ छन् । यस्तै माध्यमिक तह (नौदेखि १२) मा ४९२ विद्यार्थीमध्ये २९३ छात्रा रहेका विद्यालय प्रशासनले जनाएको छ । “विद्यालयका सबै कक्षाका विद्यार्थीमा कम्प्युटर शिक्षाबारे चासो छ” प्रधानाध्यापक यादव भन्नुहुन्छ,“तर हामीसँग रहेको स्रोत साधनले अहिले छदेखि आठ कक्षासम्ममात्र कम्प्युटर कक्षा चलाउन सकेका छौं ।”
जिल्लाकै पुरानामध्येको यो विद्यालय नगरक्षेत्रको मुख्य केन्द्र सीतापुरबजारमा रहेको हुँदा अन्यभन्दा विद्यार्थी चाप बढी छ । विद्यालयको नियमित पठनपाठनमा शिक्षक सङ्ख्या अपुग हुँदै आएको छ ।
नगरपालिका भनिए पनि ग्रामीण परिवेशका नगरक्षेत्रका विद्यालयमा छात्रा सङ्ख्या बढी हुने गरेको छ । कम्प्युटर विषयलाई विस्तार गर्नसके नविनतम प्रविधिमा ग्रामीण छोरीहरुको पहुँच बढ्ने हुँदा तीनै तहका सरकारले यस दिशामा पहलकदमी बढाउन आवश्यक रहेको यस भेगका आम बुद्धिजीवी बताउँछन् ।