
गोपाल बराल,
जलेश्वर। आज जलेश्वर भरिभराउ छ, आज जलेश्वर सजिसजाउ छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको श्री जलेश्वरनाथ मन्दिरमा गुञ्जने ‘जयशम्भो’ को स्वरमा लय मिसिदो छ । यात्री चौथो दिनको रात्री विश्रामस्थल मटिहानीबाट आज जलेश्वर पुगेका हुन् ।
सबैको मुखबाट ‘जय श्रीराम ! जय जानकी !’ को मन्त्र र जलेश्वर मन्दिर परिसरमा ‘जयशम्भो’ पुकारा सुनिन्छ । पिठ्यूँमा फेरफार लुगा र सामल खाजाको पोका , मन र वचनबाट श्रीराम नाम सङ्कीर्तन । माध्यमिकी परिक्रमाको पाँचौ दिन यात्री जलेश्वर पुग्दा जलेश्वरबासीले हार्दिक स्वागत गरेका छन् । सेवामा हरदम तत्पर छन् जलेश्वरबासी ।
यात्राको पाँचौ दिनको विश्रामस्थल जलेश्वरस्थित परिक्रमा पोखरीका चारै डिल यात्रीले खचाखच छ । श्रीराम र श्री जानकीजीको डोला दर्शन गर्न पुग्ने श्रद्धालुको भीड उत्तिकै छ । जलेश्वर नगरभरि स्वागतद्वार र ध्वजापताका सजाइएका छन् । आज जलेश्वर उजेलिएको छ, आज जलेश्वर चहकिएको छ । जताततै भीड छ, तर कोलाहल छैन, भक्तिभजनका स्वर गुञ्जिदाछन् । ‘आजु जलेश्वर सुमङ्गल हे..!’
अवधविहारी लाल (श्रीराम) र किशोरीजी (श्री जानकी) को पदचाप पछ्याउने यात्राको ध्येय अनि कल्याण र मोक्षको कामना । अघि त्रेता युगमा विवाहपश्चात श्रीराम र जानकी तत्कालीन मिथिला (विदेह) राज्यका बिभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा १८ औं सताव्दीमा माध्यमिकी परिक्रमा प्रारम्भ भएको मानिन्छ । मिथिलाको महाकुम्भ भनिने यो यात्रामा नेपाल र भारतका साधुसन्तको सरिकता हुँदै आएको छ । गृहस्थ आश्रमका पनि १५ दिन सांसारिक मायाजाल पन्छाएर सरिक हुँदै आएका विगतदेखिको परम्परा छ ।
फागुन औंशीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिलाविहारी स्थानबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला अघि लगाएर निस्कने यात्रामा जनकपुरधामको अग्नीकुण्डस्थानबाट निस्कने किशोरीजी (जानकीजी) को डोला मिसिएपछि यात्रा विधिवत प्रारम्भ हुन्छ ।
जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र दुलहादुलही मन्दिरसहित पवित्र तलाउ गङ्गासागर एबम् धनुषसागरको प्रदक्षिणा गर्दै पहिलो रात्रीबास धनुषाको हनुमानगढीमा बस्ने परम्परा छ । नेपाल र भारतका बिभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमीटरको यात्रा गरिने यो क्रममा १५ रात्रीबासको परम्परा छ । नेपालतर्फ महोत्तरी र धनुषा गरी १०७ र भारतर्फ मधुवनी जिल्लामा २६ किमी दुरी तय गरिन्छ । यात्रा क्रममा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनीमा चार रात्रीविश्राम परम्परा छ ।
महाशिवरात्रीलगत्तै प्रारम्भ हुने यो यात्रामा भगवान सदाशिव र श्रीराम तथा जानकी समान रुपले पुकारा गरिने इष्टदेव मानिदै आइएको छ । कूल १३३ किमीको वृताकारभित्र चार सुरमा शिवालय छन् । सदाशिवले यात्रा मङ्गलमय र कल्याणदायक बनाउने हिन्दू मैथिल जनविश्वास छ । डोला जहाँ पुग्छन् , दर्शन गर्नेको चाप हुन्छ । यो यात्रा नेपाल भारतबीच साँस्कृतिक, धार्मिक र आपसी कुटुम्ब सम्बन्धको अटुट परम्परा पनि भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।
यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेको परिक्रमा यात्री टोली अब आठौं दिनसम्म यसै जिल्लामा रहनेछन् । यस क्रममा आज पाँचौ दिन जलेश्वरमा रात्रीबास हुनेछ । मटिहानीमा जिल्लाको पहिलो रात्रीबास हुने परम्परा छ । यसैगरी छैठौं दिन मडै, सातौ दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवन रात्रीबासपछि महोत्तरीको यात्रा पुरा हुने परम्परा छ । त्यसैगरी धनुषाको हनुमानगढीमा पहिलो रात्रीबासबाट प्रारम्भ भएको यात्रामा नवौं, १० औं ११ औं, १२ औं र अन्तिम रात १५ औं बिताइन्छ ।
जसमा क्रमशः पर्वता, धनुषाधाम, सतोखर, औरही र जनकपुरधामको रङ्गशाला मैदान पर्छन् । त्यस्तै मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा दोस्रो कल्याणेश्वर, तेस्रो फुलहर, १३ औं करुणा र १४ औं दिन बिसौल रात्रीबासको परम्परा छ । पूर्व सुरमा सदाशिव श्री कल्याणेश्वर, पश्चिममा श्री जलेश्वरनाथ , उत्तरमा श्री क्षिरेश्वरनाथ र दक्षिणमा सतोखरनाथले यात्रा अवधिभरि डोला र यात्रीको रखबारी गर्ने विश्वास गरिन्छ ।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा १५ दिनमात्र भए पनि सांसारिक मायाजालबाट पन्छेर अलौकिक यात्राको अवसरका रुपमा यात्री लिन्छन् । “घरपरिवारको बुहार्तन त जिन्दगीभरि झेल्नु छदैंछ नि !” आज जलेश्वरमा भेटिनु भएका यात्री जिल्लाकै बनौलीका बासिन्दा घनश्याम मिश्रले भन्नुभयो, “घरमा छोराबुहारी नातिनातिना भरि छन् , हामी बुढाबुढी यसपालि यात्रामा निस्कियौं” सगैं रहनुभएकी जीवनसँगिनीतर्फ पुलुक्क हेर्दै उहाँले अगाडि भन्नुभयो, “प्रभुले पार लगाउनु हुनेछ ।”
डोलाको आगमनसँगै विश्रामस्थलमा भक्तालुले दर्शन गर्ने र भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरुको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आई पर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रवन्धमा अन्य विश्रामस्थलका झैं जलेश्वरबासी अहिले दिलोज्यानले खटेका छन् । यो यात्रा दैहिक नभएर पारलौकिक हुने विश्वास गरिन्छ । नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वरका बासिन्दा अधिवक्ता गुणबहादुर राउत बताउनुहुन्छ । यात्राको वृहतर जनकपुर क्षेत्र विकास परिषद, मार्गमा पर्ने स्थानीयतह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् ।
मिथिलामा यात्रामार्गभित्रका जनजन यो महाकुम्भमा परिचालित देखिन्छन् । यात्रामा हुनेको त आफ्नो तालिका छदैछ , यात्रामार्गका बस्तीबस्तीमा परिक्रमाको पर्खाइ हुन्छ । ल आज आफ्नो बस्तीहुँदै परिक्रमा आउँछ भन्ने भएपछि सबै डोला दर्शन र यात्रीको खातिरदारीमा सामथ्र्य लुकाउँदैनन् । कोही सर्वत ख्वाउने, कोही खाजा ख्वाउने र कोही वस्त्र फेराउने कार्यमा तल्लिन देखिन्छन् । आफैं यात्रामा निस्कन नसक्नेले डोलाको दर्शन र यात्रीको सेवा गरेर पूण्य आर्जन हुने यहाँ जनविश्वास छ । “अहो भावले अतिथि सत्कारको त हाम्रो स्थापित परम्परा नै हो, अतिथि देवरुप हुने मैथिल विश्वास छ” यात्रीको सेवासत्कारमा जुटेका जलेश्वर-१ का सुधिर साह भन्नुहुन्छ, “त्यसमा पनि अहिलेका अतिथि (यात्री) त विशिष्ट हुन् ।”
जुनसुकै विश्रामस्थलमा यात्रीको आबास, भोजन, स्वास्थ्योपचार, सुरक्षा र अsन्य आवश्यकताबारे स्थानीय (विश्रामस्थल वरिपरिका बासिन्दा) ले स्वस्पूmर्त रुपमै पनि चासो र भागिदारी लिने गरेका छन् । ‘डोला दर्शन र अतिथि सेवाको अवसरले हामी धन्य भएका छौं’ सेवासत्कारमा जुटेका जलेश्वरबासीमा समर्पणभाव झल्केको देखिन्छ । ‘सीयावरके सुखद आगमन हे..! आजु जलेश्वर सुमङ्गल हे !!