काठमाडौं : पार्टीको सम्पूर्ण शक्ति स्थानीय निर्वाचनकेन्द्रित गरेको एमालेले रणनीतिक रूपमै गठबन्धन र पार्टी एकताभन्दा अन्य दलका नेता–कार्यकर्ता व्यक्तिगत प्रवेशलाई प्राथमिकता दिएको छ । विगतको अनुभव र भविष्यमा हुन सक्ने गुटबन्दी र आउन सक्ने जटिलता हेरेर एमालेले प्रवेशलाई प्राथमिकतामा राखेको हो । केन्द्रबाट गठबन्धनको निर्णय नगर्ने एमालेको नीति तय भएको छ ।

पाँचदलीय गठबन्धनमा रहेका दलका असन्तुष्ट नेता–कार्यकर्तालाई प्रवेश गराउने र मनोवैज्ञानिक प्रचार गर्ने एमाले रणनीति छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले पास गरेको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमा गठबन्धनमा नेता–कार्यकर्तासँग संवाद बढाउने र पार्टी प्रवेश गराउने योजना नै छ ।

‘गठबन्धनमा आबद्ध पार्टीका असन्तुष्ट नेता कार्यकर्तासँग पहुँच र संवाद अगाडि बढाउनुपर्छ । व्यवस्थित रूपमा प्रवेश अभियान सञ्चालन गर्नुपर्छ,’ ओलीको राजनीतिक प्रतिवेदनमा छ, ‘पार्टीमा आबद्ध भएका नेता–कार्यकर्तालाई पार्टी सदस्यता दिने प्रक्रिया आरम्भ गर्ने र वैचारिक–राजनीतिक प्रशिक्षणको उचित व्यवस्था गर्नुपर्छ ।’

आधारभूत तहबाटै पार्टी एकता अगाडि बढाउने अभियानले सार्थकता पाएको भन्दै ओलीले प्रवेशलाई आगामी दिनमा झनै तीव्र पार्ने उल्लेख गरेका छन् । यसका लागि विशेष गरेर जिल्ला कमिटीहरूले अझ ठोस र सुविचारित योजना बनाउनुपर्ने ओलीको भनाइ छ । ओलीले पार्टी राष्ट्रिय शक्तिको निर्माण र सुदृढीकरणको अभियानमा रहेको भन्दै अन्य दलका कार्यकर्तामाथि नजर लगाउने योजना बनाएका छन् ।

‘संकीर्ण राजनीतिक स्वार्थका आप्mना कार्यकर्तालाई बारम्बार दुरुपयोग गर्ने नेतृत्वबाट सचेत रहँदै राष्ट्रिय भावना र संकल्प भएका कार्यकर्तालाई भ्रममुक्त गरेर बलियो राष्ट्रिय शक्ति निर्माण, राजनीतिक स्थायित्वको सुनिश्चितता र मुलुकको समृद्धिको अभियानमा गोलबन्द गर्न जरुरी छ,’ ओलीको प्रतिवेदनमा छ, ‘यसका लागि हाम्रो ध्यान अवसरवादी र सत्तास्वार्थमा लिप्त नेतृत्वतिर होइन, निष्ठावान् र इमानदार कार्यकर्तामा केन्द्रित हुनुपर्छ ।’

नेताहरूका अनुसार मुख्यतः दुई रणनीतिअन्तर्गत एमालेले व्यक्तिगत प्रवेशलाई प्राथमिकतामा राखेको हो । पार्टी विभाजनबाट भएको क्षति पूरा गर्ने प्रमुख रणनीतिअन्तर्गत व्यक्तिगत प्रवेशलाई प्राथमिकता दिइएको एमाले नेताहरूको भनाइ छ । व्यक्तिगत रूपमा प्रवेश गराउँदा कुनै कमिटी वा राजनीतिक भागबन्डामा प्रतिशतको हिसाब गर्नुनपर्ने र कोही व्यक्तिले पार्टी छाडे व्यक्तिगत विषय हुने भएकाले प्रवेशलाई प्राथमिकतामा राखिएको ती पदाधिकारीले बताए ।

नेताहरूबीचको शक्तिसंघर्षका कारण माओवादी केन्द्रस“गको एकता असफल भएको एमालेको निष्कर्ष छ । अहिले पनि एकता वा गठबन्धनको नीति लि“दा उस्तै समस्या आउने र आफूभन्दा कमजोर शक्तिलाई धेरै पद दिनुपर्ने एमाले नेताहरूको बुझाइ छ । तर, ओलीले यसरी प्रवेश गरेकालाई आगामी निर्वाचनमा टिकटमा प्राथमिकता दिन सक्ने एमाले नेताहरूकै बुझाइ छ ।

ओलीले मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका थिए । सिंहले एकता नभई आफ्नो पार्टीलाई एमालेमा विलय गराए । ‘नेताहरूको सत्तास्वार्थ, उपयोगको नीति र भ्रमबाट मुक्त भएर बलियो राष्ट्रिय शक्ति निर्माणका लागि गोलबन्द हुन’ एमालेले आह्वान गरेको छ ।

ओलीले एकता वा गठबन्धनको सन्देश नजाओस् भन्ने गरी व्यक्ति–व्यक्तिमाथि नजर लगाएका छन् । चुनाव जित्ने कार्यकर्तालाई टिकटमा प्राथमिकता दिने नीति ओलीले तय गरेका छन् । ‘पार्टीमा मूल्यांकन सामान्यतया दुईवटा कुरालाई आधार बनाएर हुन्छ– पहिलो, इतिहासमा व्यक्तिले गरेको योगदान, निजको निष्ठा र त्याग, अनि दोस्रो परिभाषित काम र तोकिएको दायित्व पूरा गर्न सक्ने क्षमता, सक्रियता र त्यसको नतिजा’, ओलीले जित्नेलाई टिकटमा प्राथमिकता दिइने संकेत गर्दै प्रतिवेदनमा लेखेका छन्, ‘कमरेडहरूको इतिहास, निष्ठा र त्यागलाई कसैले उपेक्षा गर्न सक्दैन, तर आज हामीलाई परिणाम चाहिएको छ, वर्तमान कार्यभार पूरा गर्न सक्ने सक्रियता, योग्यता र दक्षता चाहिएको छ ।’

आसन्न निर्वाचनमा वाम एकता वा गठबन्धन सम्भव नभएको र आवश्यकता परे स्थानीय तहमा तालमेल गर्न सकिने एमालेको नीति छ । तर, एकता र गठबन्धनको कोर्स रोकेर पार्टी प्रवेशको नीतिले धेरै ठूलो उपलब्धि हासिल नहुने कतिपय नेताहरूको मत छ । त्यसो त एमालेले गत पुस पहिलो सातादेखि घोषित रूपमै तीनमहिने पार्टी प्रवेश अभियान चलाएको छ । यसलाई निर्वाचनसम्म निरन्तरता दिने एमाले योजना छ । सबै तहका अधिवेशन सकिएपछि गत २५–२६ मंसिरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरूको कार्यविभाजन सकेर एमालेले तीनमहिने पार्टी प्रवेश कार्यक्रम र चुनावी प्रचार अभियान सुरु गरेको थियो ।

ओलीको नजर माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्तातिर धेरै छ । पुसयता अरू पार्टीका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । ओली विभिन्न जिल्लामा पुगेर अन्य दलका नेता–कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् । एमालेको दशौँ महाधिवेशनबाट पारित प्रस्तावमै एकताभन्दा व्यक्तिगत प्रवेशलाई प्राथमिकता दिइएको थियो । नयाँ पत्रिकाबाट

२०७८ चैत्र १३, आईतवार ०८:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय