काठमाडौं : काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा आफूले चाहेर पनि मतगणनालाई तीब्रता दिन नसकिएको गुनासो गर्छन् । मतगणनाको प्रक्रिया, ठूलो मतपत्र, सीमित ठाउँ, सीमित जनशक्ति र क्रस भोटहरु धेरै भएका कारण मतगणनामा समस्या भइरहेको उनको कथन छ ।

शनिवबार बिहानदेखि राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मत गणनास्थलको ठाउँ सात पुर्‍याउने तयारी छ । मतगणना सुरु गरेको तीन दिनमा जम्मा दुई वटा वडाको मतगणना सकिएको छ भने पाँच वटा वडाको गणना जारी छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडा भन्छन्, ‘जतिसक्दो छिटो मत गणना गर्ने र परिणाम दिने मेरो प्रतिवद्धता छ । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ जनाको समूह छ । यसभित्रै मुख्य निर्वाचन अधिकृतको सवारी चालक र पीएसओ पनि पर्छन् । ७ जनाले मतगणनाको सबै म्यानेज गर्नुपर्नेछ ।’

काठमाडौं महानगरपालिकामा एक लाख ९१ हजार मत खसेको छ । मतपत्र ६४ लहरको छ । मतगणना ढिलाइ भएको स्वीकार गर्दै खतिवडा थप्छन्, ‘काठमाडौं महानगरका ६४ लहरको मतपत्र छ । एक देखि ६४ सम्म कुनै पनि ठाउँमा मत संकेत भएको हुन सक्छ । त्यो सबै हेर्नुपर्छ ।’

उम्मेदवार बढी भएपछि स्वभावैले प्रतिनिधिहरु पनि बढी नै छन् । ठूलो संख्यालाई मतपत्र देखाउनुपर्ने हुन्छ । सुरु सुरुमा राष्ट्रियसभा गृहमा एउटा मतपत्र गन्न २० मिनेटसम्म लागेको थियो । तर, पछिल्लो समय तीन मिनेटभित्रै एउटा मतपत्र गनिसकिएको राजनीतिक दलका प्रतिनिधिहरु बताउँछन् ।

काठमाडौं महानगरको जस्तै समस्या अन्य ६ वटै महानगरमा छ । उपमहानगर र केही नगरपालिकाहरुमा समेत मतगण्ना सुस्त छ ।

मतगणना सुस्त भएको गुनासो बढेपछि विराटनगर महानगरपालिकाको मतगणनाका लागि तीन मतगणना स्थल थपिएको छ । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा ६ वटा कोठाबाट मतगणना भइरहेकोमा थप तीन वटा स्थल थपिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु निर्वाचन आयोगले सहयोग गरेमा मतगणनामा तीब्रत्ाा आउने बताउँछन् ।

‘निर्वाचन आयोग स्वयंलाई थाहा छ हाम्रो समस्या । यो काम आयोगकै हो । हामी राष्ट्रको सेवा गरौं भनेर छोटो समयका लागि छौं’ काठमाडौंका मुख्य निर्वाचन अधिकृत खतिवडा भन्छन्, ‘आयोगबाट पनि केही न केही होला भन्ने अपेक्षा राखेको छु ।’

मतपत्र गन्ने भनेको पाना मात्रै गनेको रुपमा नलिन उनको आम नागरिकलाई आग्रह छ । मतगणना पद्धति र प्रक्रियालाई सहज र छिटो छरितो बनाउने तरिका अपनाउन नसक्दा हरेक बर्ष यस्तो समस्या झेल्नुपरेको पनि उनले स्मरण गरे ।

२०७९ जेष्ठ २, सोमबार २२:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय