काठमाडौं : देशकै सर्वोच्च र सबैभन्दा शक्तिशाली कार्यकारी संस्था संघीय संसदमा आज आर्थिक वर्ष २०७९÷८० को लागि बजेट प्रस्तुत भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । तर, आजको संघीय संसदको बैठकमा सभामुखदेखि अर्थमन्त्रीसम्म संवेदनाहीन देखिएका छन् ।

आज बिहान करिब १० बजेतिर पोखराबाट उडेको तारा एयरलाइन्सको विमान बेपत्ता भएको छ । बजेट प्रस्तुत गर्नका लागि संघीय संसदको बैठक सुरु हुँदासम्म विमान बेपत्ता भएको ६ घण्टा भइसकेको थियो तर बिमानबारे कुनै जानकारी पाइएको थिएन । दुर्घटनाको पुष्टि भइसकेको थिएन तर विमान बेपत्ता भएको समय हेर्दा उक्त विमान त्यतिबेलासम्म उडिरहेको हुन सक्ने सम्भावना पनि थिएन किनकि यति लामो उडान गरिरहन विमानभित्र भएको इन्धनले पुग्दैन ।

विमान दुर्घटना भइसकेको आशंका गरिएको थियो । विमानमा भएकाहरुलाई सकुशल फेला पार्न सकियोस् भनेर पूरै देशले प्रार्थना गरिरहेको थियो । दुर्घटना भइसकेको भए पनि क्षतिलाई सकेसम्म कम गर्न सकियोस् र घाइतेको छिटो उद्धार गर्न सकियोस् भनेर नेपाली सेनासहित देशका सुरक्षा निकाय र अन्य उद्धारकर्ताहरु खटिएका थिए । देश त्रास र शोकमा भएको बेला संघीय संसदको बैठक सुरु भयो ।

बैठक सुरु भएपछि सभामुख अग्नीप्रसाद सापकोटाले विमान बेपत्ता भएकोबारे एक शब्द पनि उच्चारण गरेनन् । उनले सिधै अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक प्रस्तुत गर्न अनुमति दिए । अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नुअघि द्वन्द्वकालमा मारिएका ‘सहिद’हरुलाई सम्झिए तर आज विमान बेपत्ता भएकोबारे केही बोलेनन् । उनीहरु सकुशल भेटिउन् भन्ने कामना समेत गरेनन् ।

आज बेपत्ता भएको विमानका कोपाइलट उत्सव पोखरेल अर्थमन्त्री जनार्दन शर्माकै जिल्ला रुकुम पश्चिमको चौरजहारीका हुन् । उनी जिल्लाकै पहिलो पाइलट हुन् । चौरजहारी नगरपालिका निवर्तमान मेयर शर्माकै भाइ विशाल शर्मा हुन् । चौरजहारी जनार्दन शर्माकै संसदीय निर्वाचन क्षेत्रमा पर्छ । अझै खास कुरा त के भने आजको बैठक संघीय संसदको संयुक्त बैठक अर्थात प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक हो । Source: DCNepal

२०७९ जेष्ठ १५, आईतवार १७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय