जोमसोम : पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एन–एईटी जहाज निर्धारित समयमा अवतरण भएन। दुर्घटनाको हल्लीखल्ली मच्चियो। यो घटना हो, गत आइतबारको। छिनभरमै जहाज थासाङक्षेत्रमा दुर्घटना भएको भन्ने हल्ला र समाचार व्यापक हुन थाल्यो।

‘म्याग्दीको आकाशबाट क्रस गरेको उक्त जहाज एकाएक कता गायब भयो ?, कता खस्यो ?’ ठाउँको एकिन हुन सकेन। जोमसोम र थासाङक्षेत्रमा जहाज हराएको भन्दै विभिन्न माध्यमबाट फोन सम्पर्क गर्ने प्रयास भयो। सोही जहाज हराएको खबर आइतबार बिहान ११ बजे गाउँको साथीको मोबाइलबाट थाहा पाए, बागलुङ बडीगाउँ गाउँपालिका–७ भीमबिठे असारेका २४ वर्षीय तन्नेरी युवा, विशाल घर्ती मगरले।

विशाल त्यस दिन यार्सागुम्बा टिप्न गएका थिए। उनलाई कोवाङमा रहेका भेनाले पनि जहाज हराएको विषयमा जानकारी गराएकाले ‘पक्कै पनि जहाज दुर्घटना भयो’ भन्ने विश्वास उनले गरे। तर, कता खस्यो ? त्यस दिन पत्ता लगाउन सम्भव थिएन। थासाङको धौलागिरि र मानापाथी हिमालको फेदमा बाक्लो हुस्सु र बादल मडारिएको थियो। नजिकै दृश्यसमेत देख्न सक्ने अवस्था थिएन। जहाज हराएको खबर सुने पनि यार्सा टिप्न तल्लीन उनीहरू जहाज दुर्घटना भएको ठाउँबाट डेढ घण्टा माथि उचाइमा थिए। उनीसँग भान्जा र अर्को साथी श्यामलाल नेपाली थिए। अहिले जहाज खसेको ठाउँ र उनको गोठ रहेको ठाउँ झन्डै डेढ घण्टा पैदलको फरकमा पथ्र्यो। बाग्लुङका विशालले त्यसदिन जहाज पड्किएको जस्तो आवाज सुनेका थिए। तर, केको आवाज हो भन्ने एकिन गर्न सकेका थिएनन्। जहाज हराएको भन्ने सुने पनि आवाज आएको ठाउँको अन्दाज उनले गर्न सकेनन्।

त्यस दिन उनीहरू यार्सा टिप्न छोडेर गोठमा आइबसे। थासाङ–३ लेतेका सुमित गौचन जोमसोममा थिए। जहाज हराएको थाहा पाएपछि उनी कोवाङ माथिको लेकमा हानिए। उनले तारा एअरका जोमसोम प्रतिनिधि सुचन लालचनको जीपीएस ट्रयाकिङको आधारमा राति बतासे डाँडा पुगे। अहिले दुर्घटना भएको ठाउँको दुई डेढ घण्टा पर यार्सा टिप्नेको गोठ देखे। तर, विशालको गोठ केही पर अनि माथि थियो। राति अबेर गोठ पुगेका सुमितले यसै क्षेत्रमा जहाज हराएको बेली विस्तार विशाललगायतको अन्य टोलीलाई लगाए।

२०७९ जेष्ठ २१, शनिबार १५:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय