
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन्। बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर शाहबीच छलफल भएको हो।
मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन्।
उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पूरा गर्नेसमेत वचन दिइन्। जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन्।
मन्त्री झाँक्री र महानगर प्रमुख शाहबीच बन्चरेडाडाँमा फोहोरको वैज्ञानिक व्यवस्थापनबारेसमेत छलफल भएको थियो। काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख शाहले आग्रह गरे।
छलफलमा उपमेयर सुनिता डंगोलकोसमेत सहभागिता थियो। कामपाको मेयरमा विजयी भए लगत्तै फोहोर व्यवस्थापनका लागि मेयर शाहले विशेष सक्रियता देखाएका छन्।
शाहले बुधबार पनि मन्त्री झाँक्रीसँग काठमाडौंको फोहोर व्यवस्थापन र बन्चरेडाँडा ल्याण्डफिल्ड साइट सञ्चालनबारे छलफल तथा परामर्श गरेका थिए।
शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल्ड साइट सञ्चालन तथा फोहोर व्यवस्थापन र सिसडोलको पोस्ट क्लोजरबारे केही दिनमै सर्वपक्षीय छलफल गर्ने जनाएको छ।