वुटवल : जनकपुरबाट भैरहवा आउँदै गरेको बस आइतबार बिहान रुपन्देहीको रोहिणी पुलमा दुर्घटना हुनुको मुख्य कारण चालक निदाएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । लु२ख ३८४२ नम्बरको बस भूमहीबाट परासी हुँदै भैरहवा आउँदै गर्दा बिहान साढे ४ बजे रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमा क्षेत्रमा पर्ने रोहिणी खोलामा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

दायाँ साइडतिरबाट बस खसेका कारण प्रहरीले चालक निदाएकाले यसरी दुर्घटना भएको हुनसक्ने निष्कर्ष निकालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक केशव केसीले रातोपाटीसँग भने, ‘दुर्घटनाको प्रकृति हेर्दा चालक निदाएर दुर्घटना भएको हो कि भन्ने देखिन्छ । किनकि गाडी आफ्नो लेन छाडेर अर्को लेनबाट खसेको छ ।’

उनले चालक र सहचालक घाइते भएको र उनीहरुसँग सोधपुछ गर्न बाँकी रहेको पनि बताए । घाइते चालक र सहचालकको युनिभर्सल कलेजमा उपचार भइरहेको छ । प्रहरीले बस तीव्र गतिमा भएर पनि दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । उक्त बस रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने सुमन क्षेत्रीले चलाएका थिए ।

दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा मृत्यु भएका आठ जनाको नाम खुलेको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरी प्रवक्ता एवं डीएसपी नवरत्न पौडेलका अनुसार मृतकमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बस्ने वर्ष ६५ का राजेन्द्र पाण्डे, तिलोत्तमा–८ बस्ने वर्ष ३७ की तुलसी बस्याल, सोही नगरपालिका–२ का वर्ष ५६ का विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुर बस्ने वर्ष २० का दिनेश दास र बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने वर्ष ४८ का कृष्णप्रसाद बस्याल छन् ।

यस्तै, जनकपुर घर भई बुटवलको सुकुम्वासी टोल बस्ने वर्ष ४० का अपबिन्द्र शर्मा, ५६ वर्षका नागेन्द्र शर्मा, भारतीय नागरिक सञ्जय गुप्ताको पनि दुर्घटनामा मृत्यु भएको छ । मृतक एक जना पुरुषको भने पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ । घाइते हुनेमा धनुषा हंसपुर नगरपालिका–३ बस्ने वर्ष १८ का मुफिद मन्सुरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१३ बस्ने वर्ष १८ का रोहन चौधरी, जितपुर सिमरा नगरपालिका–१३ बस्ने वर्ष १८ का सतेन्द्र चौधरी, सोही ठाउँ बस्ने वर्ष १५ का वरुण चौधरी छन् ।

घाइते हुने अन्यमा सिरहा नगरपालिका–९ बस्ने वर्ष ३१ का राकेशकुमार दास, कपिलवस्तुको बाणगंगा नगरपालिका–५ बस्ने वर्ष २९ का तुलसीराम चौधरी, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२२ बस्ने वर्ष ३९ का विनोद मुखिया, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने वर्ष २८ का रियाज जुलाहा मुसलमान, सोही नगरपालिका–६ का वर्ष १६ का सहेजाद मुसलमान छन् । यस्तै रुपन्देही तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने वर्ष ३६ का सुमन क्षेत्री, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने वर्ष २० का राजेश यादव, रौतहटका २२ वर्षीय वकिल दास, भारतको जनकपुर ग्राम बस्ने वर्ष २८ का गौरव सिंह, झापाका ६० वर्षीय जयाप्रसाद चापागाईँ, सोही ठाउँकी ५६ वर्षीय तुलसी चापागाईँ, भारतीय नागरिक ३२ वर्षीय सीता शर्मा, ५ वर्षीय सुन्दिपा शर्मा, ४ वर्षीय यश शर्मा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी धनुषा जिल्लाको जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी, सोही ठाउँकी २२ वर्षीय रिनकी यादव, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने वर्ष २२ का विपिन बस्याल, रौतहट जिल्लाको श्रीनगर बस्ने वर्ष २२ का रामजनम दास, महोत्तरी बस्ने वर्ष २९ का साबिक अन्सारी पनि घाइते भएका छन् ।

जाँदा रिजर्भ, फर्किदा नम्बर

दुर्घटना भएको उक्त बस पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दर्ता भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिको उक्त गाडी जाँदा रिजर्भमा गएको तर फर्कदा भने नम्बरमै आएको जनाइएको छ । समितिका अनुसार जनकपुरबाट २० जनाको चलानी काटिएको छ । अरू यात्रु बीच बाटोबाट चढेको बुझिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक सदस्य जीवन बन्जाडेले बताए । उनले समितिले घाइतेको उपचारको कुनै कसर बाँकी नराख्न समितिका आफ्ना कर्मचारी पनि अस्पतालमा खटाएको बताए ।​ साभारः रातोपाटी

२०७९ जेष्ठ २२, आईतवार २१:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय