जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ । मिथिला नगरपालिकाले शुक्रदिन आयोजना गरेको १०औं नगरसभामा नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५७ करोड ३ लाख ५४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नगर प्रमुख महेन्द्र महतोले दशौं नगरसभालाई सम्बोधन गर्दै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।

मिथिला नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारको समानिकरण र नगद अनुदान तर्फ १५ करोड ४४ लाख, शसर्त अनुदान चालु र नगद तर्फ २२ करोड ५३ लाख, राजस्व बाँडफाँड तर्फ १२ करोड ३३ लाख ८७ हजार, शर्सत अनुदान पुँजीगत तर्फ ३ करोड ३५ लाख, विशेष अनुदान २५ लाख, समपुरक अनुदान पुँजीगत १ करोड ५० लाखको बजेट प्रस्तुत गरेको छ । यस्तै प्रदेश सरकारको समानिकरण अनुदान तर्फ १ करोड १२ लाख६७ हजार, विशेष पुँजीगत अनुदान तर्फ ३० लाख, समपुरक अनुदान तर्फ २० लाख गरी जम्मा ५७ करोड ३ लाख ५४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

यता मिथिला नगरपालिकाले नीति तथा कार्यक्रममा आर्थिक विकास नीति, सामाजिक विकास नीति, पूर्वाधार विकास नीति, वातावरण तथा विपद् व्यवस्थापन नीति र सुशासन तथा संस्थागत विकासको नीतिलाई समेटेको छ ।

नगरपालिकाले आर्थिक विकासको नीति तर्फ कृषिमा जैविक खेतीलाई प्रोत्साहन गर्न आर्गेनिक मलको प्रयोग बढाउने, नगर कृषि कार्यक्रम संचालन गर्ने, माटो परिक्षण ल्यावको स्थापना गर्ने, स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्न ब्राण्डिंग गर्ने लगायत कार्यक्रम ल्याएको छ ।

यस्तै पशु, उद्योग, सहकारी तथा वित्तिय सेवा, पर्यटनको क्षेत्रलाई समावेश गरेको छ भने सामाजिक विकास तर्फ शिक्षा, महिला, बालबालिका, अपांग तथा ज्येष्ठ नागरिक, स्वास्थ्यको क्षेत्रलाई समेटेको छ । यस्तै सामाजिक विकास तर्फ स्नातक तहको अध्ययन गर्ने क्याम्पस संचालन गर्ने, प्राविधिक तथा सीपमूलक शिक्षाको व्यवस्थापन गरिने, सबै सामुदायिक विद्यालयमाहरुमा अंग्रेजी माध्यमबाट पठन पाठनको प्रक्रिया थालनी गर्ने लगायतको कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको दशौं नगरसभामा नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकी, विभिन पार्टीका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत रंचिन्द्र डंगोल, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, लगायत नगरवासी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तथा उद्घोषण नगरपालिकाका सुचना अधिकारी दिपेश काफ्लेले गर्नुभएको थियो ।

२०७९ असार १०, शुक्रबार २०:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय