
काठमाडौं : प्रतिनिधिसभाका १६५ सीटका लागि सत्ता साझेदार दलहरुले २३७ सिटको दावी गरेका छन् । प्रतिनिधिसभाका १६५ सीट र सातै प्रदेशका ३३० निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलमा प्रतिनिधि सभा सदस्यमा १६५ स्थानका लागि सत्ता साझेदारदलहरुले २३७ सटिको दावी गरेका हुन् ।
दलहरूले आ–आफ्ना दाबी प्रस्तुत गरे पनि सीट संख्या बाँडफाँट गर्दा अन्तिममा सबैले दाबी गरेका धेरै सीटहरू गुमाउनुपर्ने देखिएको कार्यदलका एक सदस्यले बताए । लोसपाबाहेक गठबन्धनका सात घटकको दाबी २३७ सीट पुगेको छ । जबकि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सीटमात्र रहेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १०० सीट दाबी गरेको छ । गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै दबाब रहेको छ ।
यद्यपि माओवादी स्रोतले भने कांग्रेसले बढीमा ८० सीटमात्र पाउने दाबी गरेको छ । गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सीटमा दाबी गरेको छ । स्थायी कमिटीको बुधबारको बैठकमा ६० सीटको दाबी गर्ने अनौपचारिक छलफल चलेको माओवादी स्राेतले जनाएकाे छ । माओवादीले ६० सीट दाबी गरे पनि अन्तिममा उसले ४५ देखि ५० सीटमा चित्त बुझाउनुपर्ने अवस्था रहेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि ३५ देखि ४० सीट दाबी गरेको छ । स्थानीय चुनावको परिणाम र एमालेको विद्रोही शक्ति भएकाले एमाले हराउन आफूहरूले सम्मानजनक सीट पाउनुपर्ने उनीहरूको भनाइ छ । यद्यपि गठबन्धनमा भागबन्डा हुँदा नेकपा एकीकृत समाजवादकिो भागमा १५ देखि २० सीटको बीचमा पर्ने अन्यदलका नेताहरूले बताएका छन् ।
गठबन्धनको अर्को घटक जसपाले पनि ३० देखि ३५ सीट दाबी गर्ने बताइएको छ । तर, गठबन्धनका नेताहरू भने जसपाको भागमा १० सीटको हाराहारी पर्ने बताउँछन् । लोसपा गठबन्धनमा सामेल हुँदा उसको सीट अझ खुम्चिन सक्ने गठबन्धनका ठुलादलका नेताहरु बताउँछन् । यसैगरी गठबन्धनको अर्को घटक बनेको बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि ४ सीट दाबी गरेको छ भने वामदेव गौतमले आफ्नो लागि एक सीट मागेका छन् ।यसै गरी राष्ट्रिय जनमोर्चाले पनि प्यूठान र बागलुङ वा अर्घाखाँचीमध्ये एक सीट मागेको छ । तर, उसको भागमा एक सीटमात्र पर्ने निश्चित भएको छ ।