
काठमाडौं : सर्वोच्च अदालतले रेणुका शाहलाई उच्च अदालतको न्यायाधीशको पदबाट बर्खास्त गर्नुको कारण पेस गर्न आदेश दिएको छ । शाहको माग बमोजिमको अन्तरिम आदेशमा छलफलका लागि प्रस्तुत हुन सर्वोच्चले न्यायपरिषद्को नाममा आदेश जारी गरेको हो ।
योग्यता नपुगेको भन्दै उच्च अदालतको न्यायधीश पदबाट बर्खास्त गर्ने गरी भएको परिषद्को निर्णयविरुद्ध शाहले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । मंगलबार सो रिटमा न्यायधीश ईश्वर खतिवडाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ तोकिएको थियो ।
सुनुवाइको क्रममा शाहका वकिलहरूले उनको योग्यताको विषयमा पहिले नै सर्वोच्च अदालतमा निवेदन परि सो विषयमा, योग्यता नपुगेको भन्ने आधार पुष्टि नहुने भनी रिट निवेदन खारेज भइसकेको जिकिर गरेका थिए । सर्वोच्च अदालतबाट फैसला भइसकेको विषयलाई लिएर परिषद्ले शाहको योग्यतमा फेरि प्रश्न उठाउन नमिल्ने तर्क उनीहरूको तर्क थियो । शाहका वकिलले परिषदको निर्णय कार्यन्वयन नगर्नू भनेर इजलासबाट अन्तरिम आदेश माग गरेका थिए ।
बहसपछि, खतिवडाको एकल इजलासबाट अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै परिषदको नाममा कारण देखाऊ आदेश र अन्तरिम आदेशको विषयमा छलफल गर्न आदेश जारी गरेको छ ।