
काठमाडौँ: अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) को मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका छन्। कुवेती नागरिक अलमुताइरीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिने निर्णय गरेको जानकारी दिएका हुन्।
‘नेपाली फुटबललाई ५२५ दिन सेवा गरेपछि कार्यकालको अन्त्य गरेको घोषणा गर्न चाहन्छु। यो यात्रामा मलाई साथ दिने सबैलाई धन्यवाद। यो यात्रा हर्ष, प्रेम, दुःख र पीडाका क्षणले भरिएको थियो। एक टिम, जय नेपाल,’ अलमुताइरीले लेखेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीलाई अप्रिल, २०२१ मा एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो। ‘कतारी फुटबल संघले एन्फाको अनुरोध’ बमोजिम अलमुताइरीलाई नेपाल पठाएको थियो।
एएफसी प्रो लाइसेन्स भएका अलमुताइरीले अक्टोबर, २०२१ मा थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेका थिए। माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याएका अलमुताइरी पछिल्लो समय विवादमा तानिएका थिए। उनीमाथि टिमका उपकप्तान रोहित चन्दसहित १० खेलाडीलाई प्रशिक्षण छाड्न दबाब दिएको आरोप लागेको थियो।
उसो त नेपाल आएको केही समयपछि नै उनी विवादमा तानिएका थिए। उनले जुलाई २५, २०२१ मा एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले काम गर्न नदिएको भन्दै राजीना दिने घोषणा गरेका थिए। उनले साफ च्याम्पियनसिपको फाइनल खेलअघि पनि मुख्य प्रशिक्षकको पद त्याग्ने बताएका थिए।
यसरी पटक पटक राजनीनामा दिने बताएका अलमुताइरीले यसपल्ट के साँच्चै राजीनामा दिन लागेको हुन्? यसबारे एन्फाले केही प्रतिक्रिया दिएको छैन।
एसिया कप छनौटका लागि टिमको नेतृत्व गरेर गत जुनमा कुवेत पुगेका अलमुताइरी नेपाल फर्किएका थिएनन्। यहीबीच एन्फाले प्रदीप हुमागाईंलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
अलमुताइरी मुख्य प्रशिक्षकको पदमा रहिरहँदा पनि एन्फाले अर्का प्रशिक्षकलाई कार्यवाहकको जिम्मेवारी दिने अनौठो निर्णय गरेको थियो। अमेरिकी नागरिक हुमागाईंलाई सेप्टेम्बर २७ मा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक बनाइएको हो।