
रामनगर, गौशाला (महोत्तरी) ।
गौशाला नगरपालिकाका उपमेयर रेणुकुमारी महतोले समाजका हरेक नागरिकले आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गनुपर्नेमा जोड दिएका छन् । समाजमा हामीले व्यक्तिगत दायित्व मात्र हैन, आफ्नो समाजिक उत्तरदायित्व समेत पूरा गनुपर्ने बताएका हुन् ।
रामनगर युवा सञ्जालको प्रथम वार्षिकोत्सवको समारोहमा बोल्दै उपमेयर महतोले आजको युवा भोलीका कर्णधार भएकोले युवा शक्तिले देश निर्माणमा लाग्नुपर्ने बताए । सञ्जालले वार्षिकोत्सवको अवसरमा गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्दै उनले भनिन, ‘एउटा रक्तदान अर्कोलाई जीवनदान गर्ने भएकोले हरेक नागरिकले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत बुझेर रक्तदानमा सहभागि हुनुपर्छ ।’
उपमेयर महतोले गौशाला नगरपालिकामा युवाहरुले गर्ने हरेक कार्यमा नगरपालिका समन्वयन सहकार्य गरेर अगाडी बढ्ने आश्वासन दिए । उनले भनिन, ‘रक्तदान हामी हाम्रो टोल, समुदाय, वडा, नगर, जिल्ला, प्रदेश र सम्पुर्ण राष्टको लागि गर्ने भएकोले सरकारले समेत रक्तदानमा प्रोत्साहनको नीति ल्याउनुपर्ने आवश्यक महशुष भएको छ ।’
गौशाला नगरपालिका वडा नं. १ का अध्यक्ष नविन साहले रामनगर युवा सञ्जालले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा नै सभ्य र भव्य समारोह आयोजना गरेर गद्गद् बनाएको बताए । उनले भने, ‘रक्तदान हामी सबैले गनुपर्छ, यो हाम्रो शरिरको लागि आवश्यक छ, र अरुको लागि उपयोगी त्यसैले आज तपाईले गरेको रक्तदानले कसैको ज्यान जोखिमबाट बच्न सक्छ भने हामी किन नगर्ने ? अवश्य पनि गर्ने ।’
हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीका अध्यक्ष गोविन्द महतोले रगत बिनाको जीवनको कल्पना पनि गर्न नसकिने बताए । उनले भने, ‘स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।’
अध्यक्ष महतोले ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन नसकिरहेको बेलामा रक्तदान अृमत सरह भएको बताए । ‘योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । ‘रक्तदान जीवनदान । रक्तदान महादान’ यस्ता स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं ।
रक्तदानका लागि प्रेरित गर्न यी वाक्यांशले धेरै भूमिका पनि खेलेको छ ।’
रामनगर युवा सञ्जालका अध्यक्ष संजय सिंह कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ब्लड फर नेपालका केन्द्रिय अध्यक्ष सरोज कुमार महतोले रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि भएको बताए । रक्तदान एउटा दान मात्र होइन, यो त आफू आफ्ना परिवार र आफ्नाहरुको रगत सम्बन्धी बिमा जस्तै विषय भएको महतोको भनाई थियो ।
देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो ।
नेपाल रेडक्रस सोसाईटी जनकपुरको प्राविधिक सहयोग तथा हेल्पिङ्ग ह्याण्डस् नेपालको सहकार्यमा भएको रक्तदानमा रामनगरका ६५ जना रक्तदाताहरुले रक्तदान गरेको युवा सञ्जालका सचिव कौशल महतोले जानकारी दिए । कार्यक्रममा भानुभक्त मेमोयिल बोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सिपल राधेश्याम सापकोटा, वडा सदस्य देवनारायण महतो, लालि महतो लगायतकाले व्यवस्थापनमा सहयोग गरेका थिए ।
गौशाला नगर सञ्जालकी रश्मी श्री सिंहको उदघोषणमा भएको कार्यक्रममा स्थानीयवासीहरुले सक्रिय रुपमा रक्तदानमा सहभागि भएका थिए ।