काठमाडौं: आज कात्तिक शुक्ल प्रतिपदा। आजको दिन गोवर्द्धन पूजा गर्ने चलन रहेको छ।

प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने विधिअनुसार आज यो पर्व मनाउने भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

आजको दिन घरको आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलबासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

यस्तै आजै बलि राजाको पनि पूजा आराधना गरिन्छ। भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पूजा गरिन्छ।

यसका साथै आजकै दिन हल तिहार पनि परेको छ। वर्षभर खेत जोतिदिएर मानवको हित गर्ने गोरुलाई आज पूजाआजा गरी उनीहरूका मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।

२०७९ कार्तिक ९, बुधबार ०७:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय